spot_img

स्पष्ट एजेन्डाबिनाको संविधान संशोधन स्वीकार्य छैन : गगन थापा

spot_img
spot_img

काठमाडौं,२५ असार । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले स्पष्ट उद्देश्य, प्राथमिकता र समाधान गर्न खोजिएको समस्या नै नखुलाई संविधान संशोधनको प्रक्रिया अघि बढाएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। उनले हचुवाका भरमा संविधान संशोधनको बहस सुरु गर्नु जोखिमपूर्ण हुने चेतावनी दिएका छन्।

बिहीबार ललितपुरको सानेपास्थित नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित ‘संविधान संशोधनमा नेपाली कांग्रेसको दृष्टिकोण’ विषयक विचार गोष्ठीमा बोल्दै थापाले संविधान संशोधनका लागि सरकारले गठन गरेको कार्यदलको कार्यविधि, प्रक्रिया र नेतृत्वमाथि समेत प्रश्न उठाए।

उनले नेपालको संविधान लामो राजनीतिक संघर्ष, सशस्त्र द्वन्द्व र हजारौं नागरिकको बलिदानपछि बनेको स्मरण गराउँदै त्यसको ऐतिहासिक पृष्ठभूमिलाई बेवास्ता गरेर संशोधनको प्रक्रिया अघि बढाउन नहुने बताए।

“सरकारले कुन समस्या समाधान गर्न संविधान संशोधन गर्न खोजेको हो भन्ने नै स्पष्ट छैन,” उनले भने, “स्पष्ट प्राथमिकता निर्धारण नगरी संविधानका सबै विषय एकैपटक खोल्दा संवैधानिक, कानुनी र राजनीतिक जटिलता बढ्न सक्छ।”

थापाले संविधान संशोधनको मुख्य केन्द्रबिन्दु सुशासन, भ्रष्टाचार नियन्त्रण र प्रभावकारी सेवा प्रवाह हुनुपर्ने धारणा राखे। उनका अनुसार नागरिकले प्रत्यक्ष अनुभूति गर्ने सुधारका विषयलाई प्राथमिकतामा राखेर मात्र संशोधन अघि बढाउनुपर्छ।

उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत संवैधानिक निकायमा हुने नियुक्तिप्रति पनि असन्तुष्टि जनाए। संवैधानिक परिषद्को उद्देश्य शक्ति सन्तुलन कायम गर्नु भए पनि व्यवहारमा राजनीतिक भागबन्डा हाबी भएको उनको आरोप थियो।

“प्रधानमन्त्रीको प्रभावबाट स्वतन्त्र रहन नसक्ने व्यक्ति अख्तियारको नेतृत्वमा पुग्ने हो भने भ्रष्टाचार नियन्त्रणको उद्देश्य नै पूरा हुँदैन,” उनले भने। थापाले भ्रष्टाचारलाई संघीय लोकतान्त्रिक शासन व्यवस्थाको सबैभन्दा ठूलो चुनौतीका रूपमा चित्रण गर्दै संरचनागत सुधारबिना सुशासन सम्भव नहुने बताए।

उनले लोकतन्त्र, गणतन्त्र, संघीयता, संसदीय शासन प्रणाली तथा समानुपातिक समावेशी प्रतिनिधित्व नेपाली कांग्रेसका लागि अपरिवर्तनीय विषय भएको स्पष्ट पारे। यी व्यवस्थालाई अझ सुदृढ बनाउन सकिने भए पनि कमजोर पार्ने कुनै पनि संशोधन कांग्रेसलाई स्वीकार्य नहुने उनको भनाइ थियो।

संविधानका मूलभूत मूल्य र व्यवस्थालाई अक्षुण्ण राख्दै नागरिक अधिकार, सुशासन र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्यले आवश्यक संशोधन गर्नुपर्ने कांग्रेसको धारणा रहेको उल्लेख गर्दै थापाले त्यस प्रक्रियामा आफ्नो पार्टीले नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताए।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय