बीरगन्ज,२६ असार । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१९ स्थित ईनर्वासिरा क्षेत्रमा १७ वर्षीय एक युवक मृत अवस्थामा फेला परेका छन्।
इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार बिहीबार अपराह्न करिब ४:३० बजे स्थानीयले शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए। सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान थालेको थियो।
प्रहरीका अनुसार मृतकको पहिचान कलैया उपमहानगरपालिका–२ दोहरी टोल निवासी जयराम महतोका १७ वर्षीय छोरा आकाश महतोका रूपमा भएको छ।
परिवारका अनुसार आकाश असार २४ गते बिहान कपडा किन्न भन्दै घरबाट निस्किएका थिए। त्यसयता उनी परिवारको सम्पर्कमा आएका थिएनन्। दुई दिनपछि उनको शव जीतपुरसिमरा क्षेत्रमा फेला परेको हो।
मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैयामा राखिएको प्रहरीले जनाएको छ। मृत्युको कारण हालसम्म खुल्न नसकेको र घटनाको सबै पक्षबाट अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।




