काठमाडौँ,२६ असार । आत्मदाह प्रयासपछि गम्भीर घाइते भएका मुगुको सोरु गाउँपालिका–१ निवासी २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा वीर अस्पतालमा निधन भएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलीप घिमिरेका अनुसार सघन उपचारका क्रममा रहेका नेपालीको स्वास्थ्य अवस्था लगातार जटिल बन्दै गएपछि उनको मृत्यु भएको हो।
नेपालीले आत्मदाहको प्रयास गर्दा शरीरको करिब ५५ प्रतिशत भाग जलेको थियो। आगलागीबाट उनको अनुहार र श्वासप्रश्वास नलीमा समेत गम्भीर क्षति पुगेको चिकित्सकहरूले बताएका थिए। उनी वीर अस्पतालको बर्न आइसियुमा भेन्टिलेटरको सहायतामा उपचाररत थिए।
यसअघि वीर अस्पतालले पत्रकार सम्मेलनमार्फत उनको स्वास्थ्य अवस्था अत्यन्तै गम्भीर रहेको र जुनसुकै बेला थप जटिलता आउन सक्ने जनाएको थियो। चिकित्सकहरूले उनलाई बचाउन निकै चुनौतीपूर्ण रहेको बताएका थिए।
उपचारका लागि प्लास्टिक सर्जरी विभागका संयोजक डा. पीयूष दाहालको नेतृत्वमा २१ सदस्यीय विशेषज्ञ टोली परिचालन गरिएको थियो। टोलीमा प्लास्टिक सर्जरी, क्रिटिकल केयर, एनेस्थेसिया तथा नर्सिङ सेवाका अनुभवी स्वास्थ्यकर्मीहरू संलग्न थिए।
उनको स्वास्थ्य अवस्था थप बिग्रिएपछि भारतको नयाँ दिल्लीमा थप उपचारका लागि लैजाने तयारीसमेत गरिएको थियो। तर अवस्था स्थिर नभएका कारण स्थानान्तरण सम्भव हुन सकेन।
चिकित्सकहरूको निरन्तर प्रयासका बाबजुद अन्ततः उपचारकै क्रममा गणेश नेपालीको निधन भएको हो।




