काठमाडौं,२६ असार । राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरेका मुगुको सोरु गाउँपालिका–१ निवासी २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा शुक्रबार निधन भएपछि वीर अस्पताल परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ।
गम्भीर जलनका कारण वीर अस्पतालको बर्न आइसियुमा भेन्टिलेटरको सहायतामा उपचाररत रहेका नेपालीको शुक्रबार बिहान मृत्यु भएको हो। उनको निधनपछि आफन्त, स्थानीय तथा समर्थकहरू अस्पताल पुगेका छन्।
आफन्तले घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कानुनी कारबाही र पीडित परिवारलाई न्यायको माग गर्दै तत्काल शव नबुझ्ने अडान लिएका छन्। उनीहरूले माग सम्बोधन नभए आन्दोलनमा उत्रिने चेतावनीसमेत दिएका छन्।
एक आफन्तले सरकारबाट न्याय नपाएसम्म शव नबुझ्ने र आन्दोलनलाई थप सशक्त बनाउने बताएका छन्। मृतकका आफन्त चन्द्रबहादुर शाहीका अनुसार गणेश नेपाली तीन–चार वर्षअघि काठमाडौं आएका थिए। उनले किस्तामा मोटरसाइकल खरिद गरी राइड सेयरिङ सेवामार्फत जीविकोपार्जन गर्दै आएका थिए।
आफन्तका अनुसार बिहीबार निषेधित क्षेत्रमा मोटरसाइकल पार्किङ गरेको भन्दै काठमाडौं महानगरपालिकाको नगर प्रहरीले १० हजार रुपैयाँ जरिवानाको चिट काटेको थियो। त्यसपछि मानसिक तनावमा परेका गणेशले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएको दाबी गरिएको छ।
घटनाका लागि नगर प्रहरीलाई जिम्मेवार ठहर गर्दै आफन्तले निष्पक्ष अनुसन्धान र दोषीमाथि कानुनी कारबाहीको माग गरेका छन्।
यता, सम्भावित प्रदर्शन तथा अप्रिय घटना हुन नदिन वीर अस्पताल परिसरमा नेपाल प्रहरीले सुरक्षा व्यवस्था थप कडा बनाएको छ। अस्पताल क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।




