लहान,२६ असार २६ । सिरहाको लहानमा एलपी ग्यासको आपूर्ति अनियमित हुँदा उपभोक्ताले चर्को सास्ती भोग्नुपरेको छ। विशेषगरी कोशी ग्यास प्रयोग गर्ने उपभोक्ता ग्यास नपाएर डिलर–डिलर धाउन बाध्य भएका छन् भने कतिपयले महँगो मूल्य तिरेर सिलिन्डर किन्नुपरेको गुनासो गरेका छन्।
उपभोक्ताका अनुसार ग्यास आएको एक दिनमै सकिने भएकाले अधिकांश समय खाली सिलिन्डर बोकेर फर्किनुपर्ने अवस्था छ। लामो समयदेखि आपूर्ति सहज हुन नसक्दा दैनिक खाना पकाउनसमेत समस्या भइरहेको उनीहरूको भनाइ छ।
स्थानीयले कृत्रिम अभाव सिर्जना गरेर निर्धारित मूल्यभन्दा बढी रकम असुल्दै ग्यास बिक्री भइरहेको आरोप लगाएका छन्। प्रभावकारी बजार अनुगमन नहुँदा कालोबजारी बढ्दै गएको उनीहरूको गुनासो छ।
यता, ग्यास डिलरहरूले भने विराटनगरबाट मागअनुसार ग्यास आपूर्ति हुन नसक्दा समस्या उत्पन्न भएको बताएका छन्। सीमित परिमाणमा ग्यास आउने र एकैपटक धेरै उपभोक्ता तथा होटल व्यवसायी पुग्ने भएकाले स्टक छिट्टै सकिने उनीहरूको भनाइ छ।
जिल्ला उद्योग वाणिज्य संघ लहान–सिरहाले समस्या समाधानका लागि सम्बन्धित निकायसँग पटक–पटक पहल गरे पनि सुधार हुन नसकेको जनाएको छ। इलाका प्रशासन कार्यालय लहानले भने ग्यासको कृत्रिम अभाव र कालोबजारीबारे गुनासो आएपछि नगरपालिकासँग समन्वय गरी अनुगमन तीव्र बनाउने तयारी भइरहेको जनाएको छ।




