spot_img

कर्मचारीको आचरण अब डिजिटल निगरानीमा, चेतावनी पनि स्थायी रेकर्डमा

spot_img
spot_img

बीरगन्ज,२६ असार । सरकारले निजामती कर्मचारीको अनुशासन, आचरण र कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन डिजिटल निगरानी प्रणाली लागू गरेको छ। अब कर्मचारीले पाएको चेतावनीदेखि अनुशासनात्मक कारबाहीसम्मका सबै विवरण कर्मचारीको वैयक्तिक अभिलेख (पीआईएस) मा स्थायी रूपमा राखिने भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको निर्देशनपछि राष्ट्रिय किताबखाना (निजामती) र राष्ट्रिय सतर्कता केन्द्रले संयुक्त रूपमा कर्मचारीको आचरण अभिलेखीकरणको प्रक्रिया सुरु गरेका हुन्।

राष्ट्रिय किताबखानाका महानिर्देशक श्रवणकुमार पोखरेलका अनुसार राष्ट्रिय सतर्कता केन्द्रलाई पीआईएस प्रणालीमा पहुँच उपलब्ध गराइएको छ, जसबाट सम्बन्धित कर्मचारीमाथि भएका चेतावनी तथा कारबाहीका विवरण प्रत्यक्ष रूपमा प्रविष्ट गर्न सकिनेछ। यसलाई अझ व्यवस्थित बनाउन प्रणालीमा आवश्यक ‘कस्टमाइजेसन’को काम पनि भइरहेको उनले बताए।

नयाँ व्यवस्थासँगै अब कर्मचारीले गरेको अनुशासनहीन व्यवहार, चेतावनी वा अन्य कारबाहीको विवरण स्थायी रेकर्डमा रहनेछ। यसले भविष्यमा सरुवा, बढुवा, जिम्मेवारी निर्धारण तथा पुरस्कार वितरणका क्रममा कर्मचारीको वास्तविक कार्यशैली मूल्याङ्कन गर्न सहज हुने सरकारको अपेक्षा छ।

यसअघि कार्यालयमा ढिलासुस्ती गर्ने, समयको पालना नगर्ने वा माथिल्लो निकायको निर्देशन अवज्ञा गर्ने कर्मचारीलाई सुपरीवेक्षकले चेतावनी दिए पनि त्यसको औपचारिक अभिलेख राखिने व्यवस्था प्रभावकारी थिएन। परिणामस्वरूप खराब आचरण भएका कर्मचारीले समेत सफा रेकर्ड भएका कर्मचारीसरह अवसर पाउने अवस्था रहेको सरकारी अधिकारीहरूको भनाइ छ।

महानिर्देशक पोखरेलले अब आचरणसम्बन्धी अभिलेखलाई कर्मचारी व्यवस्थापनको महत्वपूर्ण आधार बनाइने बताए। उनका अनुसार यसले अनुशासनहीन कर्मचारीलाई जवाफदेही बनाउनुका साथै इमानदार र जिम्मेवार कर्मचारीलाई उचित मूल्याङ्कन गर्न मद्दत पुग्नेछ।

निजामती सेवा ऐन, २०४९ को दफा ५५ (क) अनुसार कर्मचारीले समयको पालना नगरेमा, माथिल्लो अधिकारीको आदेश अवज्ञा गरेमा वा कार्यालयको काममा लापरबाही तथा ढिलासुस्ती गरेमा सुपरीवेक्षकले कारण खुलाएर चेतावनी दिन सक्ने कानुनी व्यवस्था छ। अब यस्ता चेतावनी र कारबाहीका विवरण डिजिटल रूपमा स्थायी अभिलेखमा समावेश गरिनेछ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय