काठमाडौं,२६ असार । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का नेता तथा पूर्वमन्त्री जनार्दन शर्माले नेपाल विद्युत् प्राधिकरणको नेतृत्व राजनीतिक निकटताका आधारमा होइन, योग्य र अनुभवी विज्ञलाई दिन सरकारसँग सुझाव दिएका छन्।
शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै शर्माले पछिल्लो समय देशका विभिन्न स्थानमा पटक–पटक विद्युत् अवरुद्ध हुने समस्या बढ्दै गएको उल्लेख गर्दै प्राधिकरणमा प्राविधिक दक्षताको कमी महसुस भएको बताएका हुन्।
उनले विद्युत् अभावका बेला लोडसेडिङ अन्त्य गरेर देशलाई उज्यालो बनाइएको विगतको स्मरण गर्दै अहिले देखिएको विद्युत् आपूर्तिसम्बन्धी समस्याले नेतृत्वको क्षमता र दक्षतामाथि प्रश्न उठाएको टिप्पणी गरेका छन्।
शर्माले सरकारले राजनीतिक रूपमा निकट व्यक्तिलाई नियुक्त गर्ने परम्पराभन्दा माथि उठेर ऊर्जा क्षेत्रका योग्य विज्ञहरूमध्येबाट नेपाल विद्युत् प्राधिकरणको नेतृत्व चयन गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, “आजकल पटक–पटक विद्युत् जाने समस्याले नेपाल विद्युत् प्राधिकरणमा विज्ञताको अभाव देखिएको अनुभूति हुन्छ। सरकारले आफ्ना निकटका व्यक्तिलाई नभई बजारमा रहेका थुप्रै योग्य विज्ञहरूमध्ये एक जनालाई नेपाल विद्युत् प्राधिकरणको नेतृत्व दिने हो कि ?”




