spot_img

गहवामाई रथ यात्राको तयारी तीव्र, सुरक्षा, सरसफाइ र व्यवस्थापनका लागि ६ क्षेत्रमा जिम्मेवारी बाँडफाँड

spot_img
spot_img

वीरगन्ज,२६ असार । वीरगन्जको ऐतिहासिक तथा धार्मिक आस्थाको केन्द्र श्री गहवामाई मन्दिरको आगामी असार ३२ गते हुने ‘विशाल रथ यात्रा’लाई भव्य, सुरक्षित र व्यवस्थित बनाउन स्थानीय प्रशासन, सुरक्षा निकाय तथा सरोकारवाला संस्थाहरूले तयारीलाई तीव्र बनाएका छन्।

रथ यात्राको समग्र व्यवस्थापनलाई प्रभावकारी बनाउन वीरगञ्ज महानगरपालिकाको सभाहलमा कार्यवाहक नगर प्रमुख इम्तियाज आलमको अध्यक्षतामा उच्चस्तरीय समन्वय बैठक सम्पन्न भएको हो। बैठकमा जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, नगर प्रहरी, आयोजक समिति तथा विभिन्न सरकारी एवं गैरसरकारी निकायका प्रतिनिधिहरू सहभागी थिए।

बैठकले रथ यात्राको रुट, सम्भावित श्रद्धालुको संख्या तथा धार्मिक संवेदनशीलतालाई मध्यनजर गर्दै व्यवस्थापनका लागि छ वटा प्रमुख क्षेत्र निर्धारण गरी सम्बन्धित निकायलाई जिम्मेवारी बाँडफाँड गरेको छ।

निर्णयअनुसार रथ यात्राको सुरक्षा तथा शान्ति व्यवस्था जिल्ला प्रशासन कार्यालयको समन्वयमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र नगर प्रहरीको संयुक्त परिचालनबाट गरिनेछ। लाखौँ श्रद्धालुको सहभागिता हुने अनुमान गरिएकाले भीड नियन्त्रण, ट्राफिक व्यवस्थापन र सुरक्षा निगरानीलाई विशेष प्राथमिकता दिइनेछ।

यात्रा मार्गको सरसफाइ र फोहोर व्यवस्थापनको जिम्मा वीरगन्ज महानगरपालिकाले लिएको छ। यस कार्यमा आयोजक समिति, निजी क्षेत्र तथा विभिन्न सामाजिक संघ–संस्थाले समेत सहकार्य गर्नेछन्।

श्रद्धालुको सुविधाका लागि यात्रा मार्गका विभिन्न स्थानमा शुद्ध खानेपानी वितरणको व्यवस्था गरिनेछ। खानेपानी संस्थान, निजी क्षेत्र र अन्य सरोकारवाला निकायको समन्वयमा यो सेवा उपलब्ध गराइने निर्णय बैठकले गरेको छ।

रथ यात्राका क्रममा विद्युत् आपूर्तिमा कुनै अवरोध नआओस् भनेर नेपाल विद्युत् प्राधिकरणलाई विशेष निगरानी र आवश्यक मर्मतसम्भारको जिम्मेवारी दिइएको छ। साथै, मोबाइल नेटवर्क र सञ्चार सेवामा समस्या नआओस् भनेर नेपाल टेलिकमसहित अन्य दूरसञ्चार सेवा प्रदायकलाई सेवा सुदृढ बनाउन निर्देशन दिइएको छ।

धार्मिक मर्यादा, पवित्रता तथा यात्रा क्षेत्रको समग्र अनुगमनको जिम्मेवारी भने आयोजक समितिलाई दिइएको छ।

बैठकलाई सम्बोधन गर्दै कार्यवाहक नगर प्रमुख इम्तियाज आलमले गहवामाईको रथ यात्रा वीरगन्ज मात्र नभई समग्र मधेश प्रदेशकै सांस्कृतिक तथा धार्मिक पहिचानसँग जोडिएको पर्व भएकाले यसको सफल आयोजनाका लागि महानगरपालिकाले आवश्यक सबै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले सम्बन्धित सबै निकायलाई आफ्नो जिम्मेवारी समयमै र प्रभावकारी रूपमा पूरा गर्न निर्देशनसमेत दिए।

यसैबीच, रथ यात्रा व्यवस्थापन समितिले धार्मिक महोत्सवलाई मर्यादित, सुरक्षित र सफल बनाउन वीरगन्जबासी, उद्योगी–व्यवसायी, सामाजिक संघ–संस्था तथा सञ्चारकर्मीलाई सक्रिय सहयोग र सहभागिताका लागि आग्रह गरेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय