काठमाडौं,२६ असार । नेपाली कांग्रेसका सांसद खड्गबहादुर शाहीले मुगुका २५ वर्षीय गणेश नेपालीको मृत्युको विषयमा सरकारले सत्य लुकाएको आरोप लगाएका छन्। उनले गणेशको मृत्यु राति नै भइसकेको दाबी गर्दै सरकारले उपचार भइरहेको देखाएर ‘नाटक’ गरेको टिप्पणी गरेका छन्।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै मुगुबाट निर्वाचित सांसद शाहीले सरकारले घटनालाई पारदर्शी ढंगले प्रस्तुत नगरेको आरोप लगाए। उनले यसअघि पनि संसद्मा यो विषय उठाएर सरकारको ध्यानाकर्षण गराइसकेको बताए।
सांसद शाहीका अनुसार बिहीबार राति उनी र नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे वीर अस्पताल पुगेका थिए। त्यतिबेला उपचारमा संलग्न चिकित्सकहरूले गणेश नेपालीको बाँच्ने सम्भावना अत्यन्त न्यून रहेको जानकारी दिएको उनले बताए।
उनले गृहमन्त्री सुधन गुरुङले उपचारका लागि भारतको नयाँ दिल्ली लैजाने तयारी भएको भन्दै अस्पतालदेखि विमानस्थलसम्म सुरक्षा व्यवस्था मिलाएको घटनालाई ‘स्टन्टबाजी’को संज्ञा दिए।
शाहीले गणेश नेपालीको मृत्यु राति नै भइसकेको भए पनि सरकारले त्यसलाई सार्वजनिक नगरेको आरोप लगाउँदै भने, मृतकलाई शय्यामै राखेर उपचार भइरहेको भन्दै पत्रकार सम्मेलन गर्नु उचित नभएको बताए। उनले घटनाबारे सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग गरे।
सांसद शाहीले गणेश नेपालीको मृत्युको वास्तविक समय, उपचार प्रक्रिया तथा सरकारी निकायको भूमिकाबारे निष्पक्ष छानबिन हुनुपर्ने आवश्यकता पनि औंल्याए।




