काठमाडौं,२६ असार । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आत्मदाह प्रयासपछि ज्यान गुमाएका मुगुका गणेश नेपालीको मृत्यु कुनै राजनीतिक आरोप–प्रत्यारोपको विषय नभई राज्य, समाज र नागरिक सबैका लागि गम्भीर आत्मचिन्तनको विषय भएको बताएका छन्।
शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै थापाले गणेश नेपालीको निधनलाई एउटा नागरिकको जीवन, एउटा परिवारको असह्य पीडा र मानवीय संवेदनासँग जोडिएको दुःखद घटना भएको उल्लेख गरेका छन्।
उनले यो घटनालाई राजनीतिक बहसमा सीमित नगरी भविष्यमा यस्ता घटना दोहोरिन नदिने वातावरण निर्माणतर्फ सबैले ध्यान दिनुपर्नेमा जोड दिएका छन्।
थापाले मृतक गणेश नेपालीका आश्रित परिवारप्रति समवेदना व्यक्त गर्दै उनीहरूलाई आवश्यक साथ र सहयोग गर्न सबैलाई आ–आफ्नो ठाउँबाट पहल गर्न आग्रह गरेका छन्।
उनले विगत वा वर्तमानमा कसको दोष भन्ने बहसभन्दा पनि राज्य सञ्चालन, सार्वजनिक सेवा र सामाजिक उत्तरदायित्वबारे गम्भीर समीक्षा आवश्यक रहेको बताएका छन्।
थापाले समाज र राज्यसमक्ष केही महत्वपूर्ण प्रश्नसमेत उठाएका छन्। उनका अनुसार एउटा युवा किन चरम निराशाको अवस्थामा पुग्छ, आफ्ना पीडा सुनाउन आत्मदाहजस्तो कठोर कदम किन रोज्न बाध्य हुन्छ, र राज्यका सेवा तथा संयन्त्रले नागरिकलाई आवश्यक भरोसा र साथ किन दिन सक्दैनन् भन्ने विषयमा इमानदारीपूर्वक समीक्षा हुनुपर्छ।
उनले समाज, परिवार, राज्य र नागरिक सबैले आ–आफ्नो भूमिकाको समीक्षा गर्दै भविष्यमा कुनै पनि नागरिकले यस्तो पीडादायी बाटो रोज्न नपर्ने वातावरण निर्माण गर्नु नै गणेश नेपालीप्रतिको साँचो श्रद्धाञ्जली हुने बताएका छन्।




