काठमाडौं,२६ असार । आत्मदाह प्रयासपछि उपचारका क्रममा निधन भएका २५ वर्षीय गणेश नेपालीको मृत्युपछि काठमाडौंको माइतीघर मण्डलामा युवाहरूले प्रदर्शन गरेका छन्। घटनामा राज्यको जिम्मेवारी रहेको आरोप लगाउँदै उनीहरूले निष्पक्ष छानबिन र दोषीमाथि कानुनी कारबाहीको माग गरेका हुन्।
प्रदर्शनका क्रममा सहभागीहरूले ‘बालेन तिम्रो झिकै झिकै माया, गणेशको आत्मदाह थियो’ लगायतका नारासहितका प्लेकार्ड प्रदर्शन गरेका थिए। उनीहरूले ‘राज्य आतंक मुर्दावाद’, ‘हत्यारा सरकार मुर्दावाद’ र ‘के तिम्रो राज्यमा गरिब र युवाले बाँच्न नपाउने हो ?’ जस्ता नारासमेत लगाएका थिए।
प्रदर्शनकारीहरूले गणेश नेपालीको मृत्यु सामान्य घटना नभई राज्यको व्यवहार र जिम्मेवारीसँग जोडिएको विषय भएको दाबी गर्दै घटनाको सत्यतथ्य सार्वजनिक गर्न र दोषी ठहरिने व्यक्तिमाथि कारबाही गर्न सरकारसँग माग गरेका छन्।
मुगुको सोरु गाउँपालिका–१ निवासी गणेश नेपालीले बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका थिए। गम्भीर रूपमा जलेका उनको वीर अस्पतालमा उपचारका क्रममा शुक्रबार बिहान निधन भएको थियो।
गणेश नेपालीको मृत्युपछि घटनाको छानबिन, जिम्मेवार पक्षको पहिचान तथा पीडित परिवारलाई न्याय दिलाउनुपर्ने माग विभिन्न पक्षबाट उठ्दै आएको छ।




