spot_img

प्रमुख प्रशासकीय अधिकृतमाथि छानबिन र कारबाहीको माग गर्दै मेयर रिना साहको सरकारलाई आग्रह

spot_img
spot_img

बीरगन्ज,२६ असार । रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साहले प्रमुख प्रशासकीय अधिकृत सुरेशबाबु घिमिरेलाई निलम्बन गरी निष्पक्ष छानबिन तथा कानुनी कारबाही गर्न नेपाल सरकारसँग माग गरेकी छन्।

शुक्रबार विज्ञप्ति जारी गर्दै मेयर साहले प्रमुख प्रशासकीय अधिकृत घिमिरे लामो समयदेखि कार्यालयमा नियमित उपस्थित नभई काठमाडौंबाटै नगरपालिकाको काम प्रभावित बनाएको आरोप लगाएकी छन्।

उनले नगरपालिकाको नेतृत्वलाई जानकारी नदिई रकम निकासी गरिएको दाबी गर्दै उक्त कार्यलाई गम्भीर आर्थिक अनियमितता तथा भ्रष्टाचारजन्य गतिविधि भएको उल्लेख गरेकी छन्। यस विषयमा सत्यतथ्य छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्नुपर्ने उनको माग छ।

मेयर साहले मौलापुर नगरपालिकामा देखिएको प्रशासनिक विवाद समाधानका लागि संघीय सरकार र सम्बन्धित निकायले तत्काल हस्तक्षेप गर्नुपर्ने आवश्यकता पनि औंल्याएकी छन्।

यता, प्रमुख प्रशासकीय अधिकृत सुरेशबाबु घिमिरेले भने मेयर साहले लगाएका आरोप अस्वीकार गरेका छन्। उनले नगरपालिकाले आवश्यक कार्यविधि नै नबनाई २० करोड रुपैयाँभन्दा बढीको विद्युत् महसुल भुक्तानी गर्न दबाब दिएको दाबी गरेका छन्।

घिमिरेका अनुसार आफू कार्यालयमा हाजिर गर्न जानेबाहेक नियमित रूपमा काम गर्न नसक्ने वातावरण बनाइएको छ। उनले मेयर साहबाट पटक–पटक धम्की र दबाब आएको आरोपसमेत लगाएका छन्।

मेयर र प्रमुख प्रशासकीय अधिकृतबीच आरोप–प्रत्यारोप चुलिँदै जाँदा मौलापुर नगरपालिकाको प्रशासनिक गतिविधि प्रभावित हुने चिन्ता बढेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय