काठमाडौँ,२६ असार । जनता समाजवादी पार्टी (जसपा) नेपालले पठाओ चालक गणेश नेपालीको आत्मदाह प्रयासपछि उपचारका क्रममा भएको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनअनुसार कारबाही गर्न सरकारसँग माग गरेको छ।
पार्टी अध्यक्ष उपेन्द्र यादवद्वारा जारी विज्ञप्तिमा दिवंगत नेपालीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरिएको छ। जसपाले कुनै पनि नागरिक आफ्नो पीडा, निराशा वा अन्यायको अनुभूतिलाई आत्मदाहजस्तो चरम कदममार्फत अभिव्यक्त गर्न बाध्य हुनु कानुनी राज्यका लागि गम्भीर चेतावनी भएको जनाएको छ।
विज्ञप्तिमा यस घटनालाई केवल व्यक्तिगत दुर्घटना वा क्षणिक आवेगका रूपमा हेर्न नहुने उल्लेख गर्दै यसको वास्तविक कारण र पृष्ठभूमिको निष्पक्ष, पारदर्शी तथा विश्वसनीय छानबिन हुनुपर्ने माग गरिएको छ। छानबिनका क्रममा कुनै व्यक्ति, संस्था वा राज्य संयन्त्रको लापरबाही वा गैरजिम्मेवारी देखिए कानुनबमोजिम कडा कारबाही गर्नुपर्नेमा पनि जोड दिइएको छ।
जसपाले सरकारसँग मृतकका परिवारलाई उचित राहत, सम्मानजनक क्षतिपूर्ति तथा आवश्यक सामाजिक र आर्थिक सहयोग तत्काल उपलब्ध गराउन आग्रह गरेको छ। साथै, भविष्यमा यस्ता दुःखद घटना दोहोरिन नदिन श्रमिक, कामदार, युवा तथा अन्य नागरिकका गुनासा समयमै सम्बोधन गर्ने, न्याय सुनिश्चित गर्ने र मनोसामाजिक सहयोगलाई प्रभावकारी बनाउने संस्थागत व्यवस्था गर्नुपर्ने आवश्यकता औँल्याएको छ।
पार्टीले मानव जीवनभन्दा ठूलो कुनै पनि विषय हुन नसक्ने उल्लेख गर्दै नागरिकको जीवन, सम्मान र न्यायको संरक्षण गर्नु राज्यको पहिलो दायित्व भएको स्पष्ट गरेको छ। कुनै पनि नागरिकले आफ्नो आवाज सुनाउन जीवन नै समाप्त गर्नुपर्ने अवस्था सिर्जना हुनु सभ्य समाजका लागि स्वीकार्य हुन नसक्ने भन्दै यस घटनाले राज्य र समाज दुवैले गम्भीर आत्मसमीक्षा गर्नुपर्ने आवश्यकता औँल्याएको छ।




