बीरगन्ज्,२६ असार । त्रिभुवन राजपथअन्तर्गत घण्टाघरदेखि माइस्थानसम्मको सडक विस्तारमा देखिएको विवाद समाधानका लागि जिल्ला प्रशासन कार्यालय पर्साले सरोकारवालाबीच छलफल गर्दै प्राविधिक तथा कानुनी आधारमा प्रक्रिया अघि बढाउने निर्णय गरेको छ।
प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा बिहीबार बसेको बैठकमा सडक डिभिजन कार्यालय, नापी कार्यालय पर्सा, बीरगन्ज्म हानगरपालिका, बीरगन्ज् बचाउ सडक संघर्ष समिति, प्रभावित घरधनी तथा अन्य सरोकारवालाको सहभागिता रहेको थियो।
बैठकले आर्थिक वर्ष २०४६/४७ मा नापी कार्यालय पर्साले तयार गरेको आधिकारिक नक्सालाई आधार मानेर सडकको वास्तविक सीमा निर्धारण गर्ने निर्णय गरेको छ। सोही नक्साअनुसार सडकको चौडाइसम्बन्धी विवरण उपलब्ध गराइने र त्यसपछि सडक डिभिजन कार्यालय हेटौँडाले नापी कार्यालय तथा बीरगन्ज् महानगरपालिकाका प्राविधिकको सहयोगमा सडकको केन्द्ररेखा (सेन्टर लाइन) यकिन गर्नेछ।
केन्द्ररेखा निर्धारण भएपछि दायाँ–बायाँ २५–२५ मिटर क्षेत्र कायम गरी त्यसभित्र पर्ने अतिक्रमण हटाउने प्रक्रिया अघि बढाइने निर्णय बैठकले गरेको छ।
त्यसैगरी, गण्डकदेखि घण्टाघरसम्म र मितेरी पुलदेखि माइस्थान हुँदै घण्टाघरसम्मको सडक खण्डको एलाइनमेन्ट मिलाएर एउटै मापदण्डअनुसार सडकको सीमाङ्कन गर्ने सहमति पनि भएको छ।
बैठकमा बीरगन्ज् बचाउ सडक संघर्ष समितिका अध्यक्ष कुन्दन रौनियार, सडक विस्तारबाट प्रभावित घरधनी तथा अन्य सरोकारवालाले सडक विस्तार कानुनसम्मत, पारदर्शी र सबै पक्षको हितलाई ध्यानमा राखेर अघि बढाउनुपर्ने धारणा राखेका थिए।
घण्टाघर–माइस्थान सडक विस्तारलाई लिएर पछिल्ला महिनाहरूमा स्थानीय, व्यवसायी तथा प्रभावित पक्षबीच विभिन्न विवाद र असन्तुष्टि देखिँदै आएको थियो। बिहीबारको निर्णयसँगै आधिकारिक नक्सा र प्राविधिक मापदण्डका आधारमा सडकको वास्तविक सीमा निर्धारण गरी विस्तार कार्य व्यवस्थित रूपमा अघि बढ्ने अपेक्षा गरिएको छ।




