बीरगन्ज,२६ असार । तलब भुक्तानीको माग गर्दै बीरगन्ज महानगरपालिकाका कर्मचारीहरूले शुक्रबार बिहानदेखि सुरु गरेको आन्दोलन वार्तापछि स्थगित भएको छ। महानगर नेतृत्व र कर्मचारीबीच सहमति जुटेपछि कर्मचारीहरू काममा फर्किएका छन् भने महानगरको सेवा प्रवाह पुनः नियमित बनेको छ।
स्थानीय निकाय कर्मचारी संघ (एमाले) समर्थित महानगर एकाइ समितिको नेतृत्वमा कर्मचारीहरूले जेठ र असार महिनाको बाँकी तलब तत्काल भुक्तानी गर्न माग गर्दै आन्दोलन गरेका थिए। आन्दोलनका कारण केही समय महानगरको दैनिक प्रशासनिक कामकाज र सेवा प्रवाह प्रभावित भएको थियो।
शुक्रबार कार्यवाहक नगर प्रमुख इम्तियाज आलम, प्रमुख प्रशासकीय अधिकृत तथा कर्मचारी प्रतिनिधिबीच भएको वार्तामा जेठ महिनाको तलब तत्काल निकासा गर्ने सहमति भएको जनाइएको छ। सोही सहमतिपछि कर्मचारीहरूले आन्दोलनका कार्यक्रम स्थगित गर्दै नियमित रूपमा कार्यालयमा फर्किएका हुन्।
कार्यवाहक नगर प्रमुख आलमले कर्मचारीहरूको मागप्रति महानगर गम्भीर रहेको उल्लेख गर्दै संवाद र सहमतिमार्फत समस्या समाधान गरिएको बताए। उनले बाँकी विषयहरू पनि सेवा प्रवाहमा असर नपर्ने गरी चरणबद्ध रूपमा सम्बोधन गरिने प्रतिबद्धता व्यक्त गरे।
महानगरपालिकाले यसअघि रोकिएको केही महिनाको तलब भुक्तानी गरिसकेको र बाँकी आर्थिक दायित्व व्यवस्थापनका लागि आवश्यक प्रक्रिया अघि बढाइएको जनाएको छ।
वार्ताबाट सहमति भएपछि महानगरपालिकाका सबै प्रशासनिक सेवा तथा दैनिक कामकारबाही पुनः नियमित रूपमा सञ्चालनमा आएका छन्।




