बीरगन्ज,२६ असार । शिक्षण–सिकाइलाई थप प्रभावकारी, आधुनिक र विद्यार्थीकेन्द्रित बनाउने उद्देश्यले बीरगन्ज पब्लिक कलेजमा चारदिने शिक्षक क्षमता अभिवृद्धि तालिम सुरु भएको छ।
कलेजका सम्पूर्ण शिक्षकहरूको सहभागिता रहेको तालिमको उद्घाटन कलेजका संस्थापक डा. दीपक शाक्य, डा. अर्बिन्द श्रेष्ठलगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थितिमा गरिएको हो। कलेजका अनुसार प्रशिक्षण कार्यक्रम लगातार चार दिन सञ्चालन हुनेछ।
तालिममा शिक्षकहरूको व्यावसायिक दक्षता, नेतृत्व क्षमता र व्यक्तिगत विकासलाई केन्द्रमा राख्दै आत्म–नेतृत्व, सहकार्यात्मक नेतृत्व, प्रभावकारी सञ्चार, सकारात्मक सोच, आत्ममूल्याङ्कन, रचनात्मक सुझाव तथा प्रतिक्रिया आदान–प्रदान, समूहमा काम गर्ने सीप, परिवर्तन व्यवस्थापन, नैतिक मूल्य र व्यवहार, स्पष्ट उद्देश्य निर्धारण तथा प्रतिबद्धताजस्ता विषयमा प्रशिक्षण प्रदान गरिनेछ।
यससँगै दिगो विकासका विभिन्न आयामहरू, सामाजिक प्रभाव सिर्जना, दिगो सामाजिक परिवर्तनका लागि परियोजना निर्माण, सभ्य रोजगारी तथा आर्थिक समृद्धि, उद्योग, नवप्रवर्तन र पूर्वाधार विकास, जलवायु संरक्षण, जैविक विविधता संरक्षण, जिम्मेवार उत्पादन तथा उपभोग, शान्ति, न्याय, सबल संस्था निर्माण तथा लक्ष्य प्राप्तिका लागि साझेदारीजस्ता विषयमा समेत छलफल र व्यावहारिक अभ्यास गराइने कलेजले जनाएको छ।
कलेज प्रशासनका अनुसार तालिमको मुख्य उद्देश्य शिक्षकहरूको नेतृत्व क्षमता, सिर्जनशीलता, सहकार्य गर्ने सीप तथा विद्यार्थीकेन्द्रित शिक्षण पद्धतिलाई थप सुदृढ बनाउनुका साथै समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्ने जिम्मेवार र दक्ष शिक्षक तयार गर्नु हो।
तालिमपछि सहभागी शिक्षकहरूले हासिल गरेका ज्ञान, सीप र अनुभवलाई कक्षाकोठामा व्यवहारमा उतार्दै शिक्षण–सिकाइ प्रक्रियालाई थप गुणस्तरीय, अनुसन्धानमुखी र परिणाममुखी बनाउन सहयोग पुग्ने विश्वास कलेजले व्यक्त गरेको छ।




