बीरगन्ज,२६ असार । धान रोपाइँको मुख्य सिजन चलिरहेका बेला देशभर रासायनिक मलको अभाव चुलिएको छ। सरकारी डिपोमा मल नपाएपछि सीमापारि भारतबाट किनेर ल्याउन बाध्य भएका किसान पक्राउ पर्न थालेपछि उनीहरूको समस्या झन् गम्भीर बनेको छ।
सर्लाहीको बलरा–५ का ६० वर्षीय नागेन्द्रप्रसाद सिंह र ५५ वर्षीय सुरेशप्रसाद सिंह गत असार १७ गते भारतको बिहारस्थित सीतामढी जिल्लाको सोनवर्षा बजारबाट रासायनिक मल खरिद गरेर फर्किने क्रममा भारतीय कृषि विभाग र सशस्त्र सीमा बल (एसएसबी) को टोलीले पक्राउ गरेको थियो। उनीहरूलाई मल तस्करीको आरोपमा पक्राउ गरी हाल सीतामढीको डुमरा जेलमा राखिएको परिवारले जनाएको छ।
परिवारका अनुसार नेपालमा मल नपाएपछि आफ्नै खेतीका लागि दुई बोरा युरिया र छ बोरा डीएपी खरिद गरी ल्याउँदै गर्दा उनीहरू पक्राउ परेका हुन्। अदालतमा मुद्दाको सुनुवाइ प्रक्रिया जारी रहेको बताइएको छ।
देशभर हरेक वर्ष खेतीपातीको समयमा मल अभाव हुने गरे पनि यस वर्ष समस्या अझ गम्भीर बनेको किसानहरू बताउँछन्। सहकारी र सरकारी डिपोमा मल नपाएपछि किसान सीमावर्ती भारतीय बजार धाउन बाध्य छन्। तर भारतीय पक्षले सीमामा कडाइ गरेपछि त्यहाँबाट मल ल्याउनसमेत जोखिम बढेको छ।
रौतहटका किसान सुशील अधिकारीले रोपाइँसँगै मल आवश्यक पर्ने भए पनि धेरै ठाउँ धाउँदा समेत मल नपाएको गुनासो गरे। उनका अनुसार समयमै मल प्रयोग गर्न नसक्दा धान उत्पादनमा प्रत्यक्ष असर पर्ने चिन्ता बढेको छ।
विजयपुरका किसान सहदेव चौधरीले पनि आफ्नै देशमा मल नपाइने र भारतबाट ल्याउन खोज्दा पनि रोक लगाइने अवस्था सिर्जना भएको बताए। किसानहरूका अनुसार पछिल्ला केही दिनयता भारतीय सुरक्षाकर्मीले सीमाबाट रासायनिक मल ल्याउन कडाइ गरेका छन्।
रौतहटमा कृषि सामग्री कम्पनीले पुरानो मौज्दातबाट सीमित मात्रामा डीएपी वितरण गरिरहेको भए पनि जिल्लाको आवश्यकताका तुलनामा त्यो अत्यन्तै न्यून छ। स्थानीय जनप्रतिनिधिहरूले उपलब्ध गराइएको मल हजारौं किसानका लागि पर्याप्त नभएको बताएका छन्।
यस्तै अवस्था कोशी प्रदेशका झापा, मोरङ र सुनसरीलगायत जिल्लामा पनि देखिएको छ। अधिकांश किसान पर्याप्त मल नपाउँदा मल नहालेरै धान रोप्न बाध्य भएका छन्। किसानहरू समयमै डीएपी प्रयोग गर्न नपाउँदा उत्पादन घट्ने चिन्तामा छन्।
कृषि सामग्री कम्पनी लिमिटेडका अधिकारीहरूले अपेक्षाअनुसार मल आपूर्ति हुन नसक्दा माग धान्न कठिन भएको स्वीकार गरेका छन्। कम्पनीका अनुसार हाल पुरानो मौज्दातबाट सीमित वितरण भइरहेको छ भने नयाँ आपूर्ति ढिलो हुने सम्भावना छ। यसका कारण विशेषगरी डीएपी मलको अभाव अझै केही समय कायम रहने देखिएको छ।




