काठमाडौं,२६ असार । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक गरेयता सेयर बजारमा लगातार गिरावट देखिएको छ। पछिल्ला तीन कारोबार दिनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक करिब ५० अंकले ओरालो लागेको छ।
राष्ट्र बैंकले मंगलबार मौद्रिक नीति सार्वजनिक गरेपछि बुधबार नेप्से ३०.०९ अंक, बिहीबार १९.६७ अंक र शुक्रबार थप १.१३ अंकले घट्यो। शुक्रबार कारोबार बन्द हुँदा नेप्से २,६००.७८ बिन्दुमा कायम भयो। बजार परिसूचक सामान्य रूपमा घटे पनि कारोबार रकम भने उल्लेखनीय रूपमा बढेको छ। बिहीबार ४ अर्ब ६१ करोड रुपैयाँको कारोबार भएकोमा शुक्रबार यो रकम बढेर ६ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ।
विशेषगरी संस्थाको वित्तीय सबलताका आधारमा सेयर धितो कर्जाको सीमा निर्धारण गर्ने व्यवस्था मौद्रिक नीतिमा समेटिएपछि लगानीकर्तामा केही अन्योल देखिएको विश्लेषण गरिएको छ। साथै, असार मसान्त नजिकिएकाले बैंकको किस्ता तथा ब्याज भुक्तानीका लागि लगानीकर्ताले सेयर बिक्री बढाउँदा पनि बजारमा दबाब परेको मानिएको छ।
शुक्रबार कारोबारको सुरुआतमा नेप्से करिब २० अंकले बढे पनि अन्तिम समयमा दबाब बढ्दा सूचक घटेर बन्द भयो। दिनभरको कारोबारमा १२० कम्पनीको सेयर मूल्य बढ्दा १३५ कम्पनीको घट्यो भने १९ कम्पनीको मूल्य स्थिर रह्यो।
समूहगत परिसूचकतर्फ बैंकिङ, विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, जलविद्युत् र जीवन बीमा समूहमा गिरावट देखिएको छ। यद्यपि लगानी, उत्पादनमूलक, माइक्रोफाइनान्स र निर्जीवन बीमा समूह भने सामान्य वृद्धि भएका छन्।
व्यक्तिगत कम्पनीतर्फ आत्मनिर्भर लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै १०.६६ प्रतिशतले बढ्यो। कुमारी इक्वी फन्ड र अलङ्गा हाइड्रोपावरको मूल्य पनि उल्लेख्य रूपमा उकालो लाग्यो। विपरीत, भगवती हाइड्रोपावर कम्पनीको सेयर मूल्य सबैभन्दा बढी ७.७८ प्रतिशतले घटेको छ।




