काठमाडौं,२६ असार । प्रतिनिधिसभा सञ्चालन नियमावलीविरुद्ध नेपाली कांग्रेसको संसदीय दलले दायर गरेको रिटमाथि सर्वोच्च अदालतले ३१ असारका लागि पेसी तोकेको छ। कांग्रेसले प्रतिनिधिसभा र राष्ट्रियसभा संसदीय दलका तर्फबाट सर्वोच्च अदालतमा रिट दायर गर्दै सत्ता पक्षले बहुमतको बलमा संविधानसँग बाझिने गरी नियमावली पारित गरेको दाबी गरेको छ।
रिटमा १७ जेठमा पारित गरिएको प्रतिनिधिसभा सञ्चालन नियमावली संविधानको मर्म र व्यवस्थाविपरीत रहेको उल्लेख गर्दै उक्त नियमावली बदर गर्न माग गरिएको छ।
कांग्रेसले नियमावली पारित गर्ने क्रममा संवैधानिक प्रक्रिया र मूल्यमान्यताको उल्लंघन भएको आरोप लगाउँदै यसलाई ‘संवैधानिक छलकपट’को संज्ञा दिएको छ। अब उक्त विवादमा सर्वोच्च अदालतले ३१ असारदेखि सुनुवाइ प्रक्रिया अघि बढाउनेछ।




