spot_img

गणेश नेपालीको मृत्युपछि सरकारमाथि चौतर्फी प्रश्न, रास्वपाभित्रै असन्तुष्टि

spot_img
spot_img

काठमाडौं,२६ असार । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरेका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएपछि सरकारको भूमिकामाथि चौतर्फी प्रश्न उठ्न थालेको छ। घटनापछि सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रैबाट समेत सरकारप्रति असन्तुष्टि सार्वजनिक भएको छ।

बिहीबार काठमाडौं महानगर प्रहरीसँग ‘ह्वील लक’ सम्बन्धी विवाद भएपछि गणेश नेपालीले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। करिब ५५ प्रतिशत शरीर जलेका उनलाई प्रहरीले उद्धार गरी वीर अस्पतालको बर्न आइसियुमा भर्ना गरेको थियो। उपचारकै क्रममा शुक्रबार उनको निधन भएको हो।

घटनापछि रास्वपाकी सांसद समीक्षा बास्कोटाले सामाजिक सञ्जालमार्फत प्रेम आचार्य र गणेश नेपालीका घटनाले राज्यको संवेदनशीलता र जिम्मेवारीमाथि गम्भीर प्रश्न उठाएको टिप्पणी गरेकी छन्। उनले यस्ता पीडादायी घटनाको पुनरावृत्ति रोक्न राज्यले प्रभावकारी कदम चाल्नुपर्ने बताएकी छन्।

रास्वपाका अर्का सांसद गणेश कार्कीले घटनाको निष्पक्ष छानबिन गरी दोषी देखिए कानुनअनुसार कारबाही हुनुपर्ने बताएका छन्। उनले आत्महत्या तथा आत्मदाहजस्ता घटनालाई सामान्य रूपमा लिन नहुने र नागरिकको जीवन रक्षा राज्यको पहिलो दायित्व भएको उल्लेख गरेका छन्।

केन्द्रीय सदस्य हिमेश पन्तले कुनै नागरिक आफ्नै शरीरमा आगो लगाउने अवस्थासम्म पुग्नु समाज, राजनीति र राज्य व्यवस्थाको गम्भीर असफलता भएको टिप्पणी गरेका छन्। उनले नागरिकको निराशा घटाउने नीति र व्यवहार आवश्यक रहेको बताएका छन्।

सांसद रञ्जु दर्शनाले पनि गणेश नेपालीको उपचार खर्च व्यहोर्ने घोषणामै सरकार सीमित हुन नहुने भन्दै उनी यस्तो कदम चाल्न बाध्य किन भए भन्ने विषयको गहिरो अध्ययन गर्न आग्रह गरेकी छन्। उनले युवामा बढ्दो निराशा कम गर्न सामाजिक–आर्थिक सुधार र आधारभूत आवश्यकताको सुनिश्चितता आवश्यक रहेको धारणा राखेकी छन्।

यस घटनापछि विपक्षी दलहरूले सरकारमाथि जनताको पीडा बुझ्न नसकेको आरोप लगाएका छन्। चार वर्षअघि प्रेम आचार्यको आत्मदाह घटनापछि तत्कालीन सरकारको आलोचना गरेका वर्तमान सत्तापक्षका नेताहरू अहिले मौन रहेको भन्दै सामाजिक सञ्जालमा पनि व्यापक बहस भइरहेको छ।

गणेश नेपालीको मृत्युले आत्महत्या तथा मानसिक स्वास्थ्यका समस्या, राज्यको सेवा प्रवाह, नागरिकप्रतिको व्यवहार र सरकारको जवाफदेहितामाथि नयाँ बहस सुरु गराएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय