काठमाडौं,२६ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्बु ओलीले सरकारको १०० दिने कार्यकाल पूर्ण रूपमा असफल भएको आरोप लगाउँदै सुशासन र समृद्धिका सरकारी दाबी वास्तविकतासँग मेल नखाने बताएकी छन्।
शुक्रबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले मुगुका २५ वर्षीय गणेश नेपालीले काठमाडौंमा आत्मदाह गरेको घटनालाई राज्यको असंवेदनशीलताको परिणामका रूपमा व्याख्या गरिन्। सरकारले सुशासनमा ८७ प्रतिशत प्रगति भएको दाबी गरिरहँदा एक युवा आत्मदाह गर्न बाध्य हुनु सरकारका लागि गम्भीर प्रश्न भएको उनको भनाइ थियो।
ओलीले भ्रष्टाचार नियन्त्रणको नारा दिए पनि व्यवहारमा सरकार पक्षपातपूर्ण ढंगले अघि बढेको आरोप लगाइन्। सहकारी अपचलन र सम्पत्ति शुद्धीकरणजस्ता मुद्दामा प्रभावशाली व्यक्तिहरूलाई संरक्षण गर्ने प्रयास भइरहेको उनको दाबी थियो।
आर्थिक नीतिमा सरकार स्पष्ट दृष्टिकोणविहीन रहेको टिप्पणी गर्दै उनले वैदेशिक ऋणको विरोध गर्नेहरू नै अहिले ऋणका लागि निर्भर बनेको उल्लेख गरिन्। साथै, नेपाल वित्तीय निगरानीसम्बन्धी अन्तर्राष्ट्रिय जोखिम बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरिन्।
परराष्ट्र नीतितर्फ पनि सरकार अपेक्षाअनुसार सफल हुन नसकेको आरोप लगाउँदै उनले प्रधानमन्त्रीका विदेश भ्रमणबाट राष्ट्रिय हितअनुकूल उल्लेखनीय उपलब्धि हासिल नभएको बताइन्।
सांसद ओलीले वर्तमान शासन व्यवस्थामाथि पुनर्विचार आवश्यक रहेको धारणा राख्दै संवैधानिक राजसंस्था, हिन्दु राष्ट्र र संविधान संशोधनजस्ता विषयमा खुला राष्ट्रिय बहस सुरु गर्नुपर्नेमा जोड दिइन्।




