काठमाडौं,२६ असार । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, जनकपुरले गरेको बजार अनुगमनमा खाद्य स्वच्छता र गुणस्तरमा लापरबाही गरेको पाइएपछि जनकपुरधामस्थित मिथिला थाली प्रा.लि.लाई २५ हजार रुपैयाँ जरिवाना गरिएको छ।
शुक्रबार जारी विज्ञप्तिअनुसार मधेस प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री फकिरा महतोसहितको संयुक्त अनुगमन टोलीले होटल निरीक्षणका क्रममा खानेकुरामा अखाद्य कृत्रिम रङ्ग प्रयोग गरिएको फेला पारेको थियो। अनुगमन टोलीले अखाद्य रङ्ग मिसाएर तयार पारिएको करिब पाँच किलोग्राम ब्याटर (पिठोको घोल) नष्ट गरेको जनाएको छ।
अनुगमनका क्रममा होटलको भान्छा अत्यन्तै अस्वच्छ रहेको, भान्छा र भाँडा धुने स्थान एउटै रहेको तथा यसअघि दिइएका सुधारका निर्देशनसमेत पालना नगरेको पाइएको विभागले जनाएको छ। सोही आधारमा उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार सहायक प्रमुख जिल्ला अधिकारीमार्फत २५ हजार रुपैयाँ जरिवाना गरिएको हो।
यस्तै, रामानन्द चोकस्थित सृष्टि वैष्णव होटललाई पनि दर्ताविनै व्यवसाय सञ्चालन गरेको र पटक–पटक प्रयोग गरिएको कमसल तेलमा जेरी तथा समोसा पकाएको भेटिएपछि २५ हजार रुपैयाँ जरिवाना गरिएको छ।
यसै क्रममा जनकपुरका अन्य ६ वटा मिठाई तथा नास्ता पसलमा गरिएको अनुगमनमा पनि सरसफाइको अभाव, लेबल नभएका खाद्य सामग्रीको प्रयोग तथा मसीजन्य कागजमा खानेकुरा बिक्री गरिएको पाइएको विभागले जनाएको छ। ती व्यवसायलाई आवश्यक सुधार गर्न निर्देशन दिइएको छ।
वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा. बालकुमारी शर्माका अनुसार आठ वटा व्यवसायमा गरिएको अनुगमनबाट दुई व्यवसायलाई गरी कुल ५० हजार रुपैयाँ जरिवाना गरिएको छ भने अन्य व्यवसायलाई खाद्य सुरक्षा मापदण्ड पालना गर्न कडा निर्देशन दिइएको छ।




