काठमाडौं,२७ असार । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले अति महत्वपूर्ण सार्वजनिक सरोकारका विषयबाहेक आगामी एक वर्षसम्म कुनै पनि सञ्चारमाध्यम वा सामाजिक सञ्जालका सामग्री निर्माता (युट्युबर) लाई अन्तर्वार्ता नदिने घोषणा गरेका छन्।
ट्राफिक नियम उल्लंघन गर्नेहरूलाई ५० हजार रुपैयाँ जरिबाना हुनुपर्ने भन्ने आफ्नो अभिव्यक्तिपछि विवादमा परेका मन्त्री पुनले शनिबार सामाजिक सञ्जाल ‘एक्स’मार्फत यस्तो घोषणा गरेका हुन्।
उनले अब राष्ट्रिय महत्वका अत्यावश्यक विषयबाहेक कुनै पनि पत्रकार, युट्युबर वा सामाजिक सञ्जालका माध्यमसँग अन्तर्वार्ता नगर्ने स्पष्ट पारेका छन्।
पुनका अनुसार केही दिनअघि ट्राफिक जरिबानासम्बन्धी विषयमा आफूलाई जानकारी नभएको बताउँदाबताउँदै पनि बारम्बार प्रश्न गरिएकाले अन्ततः आफूले अटेर गर्नेलाई कडा जरिबाना हुनुपर्ने धारणा व्यक्त गरेको बताए। उनका अनुसार ५० हजार रुपैयाँ जरिबानाको प्रसंग भने आफूले नभई अन्तर्वार्ता लिने पक्षबाट उठाइएको थियो।
विवादित अभिव्यक्तिप्रति उनले आत्मालोचना गर्दै उक्त भनाइ फिर्ता लिएका छन्। साथै, आफ्नो अभिव्यक्तिबाट कसैको भावना आहत भएको भए क्षमायाचना पनि गरेका छन्।
मन्त्री पुनले ट्राफिक नियमको पालना सबै नागरिकको दायित्व भएको उल्लेख गर्दै नियम उल्लंघन गर्नेहरूले पनि आफ्नो व्यवहारबारे आत्मसमीक्षा गर्नुपर्ने बताएका छन्।




