spot_img

भारी वर्षासँगै बाढी–पहिरोको जोखिम, मौसम विभागको सतर्कता अपिल

spot_img
spot_img

वीरगन्ज,२७ असार । देशभर मनसुनी प्रणाली सक्रिय बनेसँगै आज पनि अधिकांश स्थानमा वर्षा हुने भएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा केही तराई क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।

महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ रहेकाले देशभर वर्षा गराउने मौसमी प्रणाली प्रभावकारी बनेको छ। हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ भने कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा मधेस प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने अनुमान गरिएको छ। हिमाली क्षेत्रमा केही स्थानमा तथा पहाडी भू-भागका धेरै स्थान र तराईका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

विशेषगरी कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्र तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले ती क्षेत्रमा आकस्मिक बाढी, पहिरो र डुबानको जोखिम रहेको चेतावनी दिइएको छ।

रातिको समयमा पनि वर्षा जारी रहने पूर्वानुमान छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ। गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्र तथा कोशी, गण्डकी र लुम्बिनीका तराईका एक–दुई स्थानमा राति पनि भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

मौसमविद्हरूले सक्रिय मनसुनका कारण चट्याङ, बाढी, पहिरो र डुबानको जोखिम बढेकाले नदी किनार, भिरालो भू-भाग तथा जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गरेका छन्। साथै, वर्षाका कारण सडक यातायात र दैनिक जनजीवन प्रभावित हुन सक्ने भएकाले आवश्यक पूर्वतयारी गर्न पनि अनुरोध गरिएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय