spot_img

आदर्शनगरकाे जग्गा विवादमा २१ घरजग्गाधनीद्वारा सांसद पन्तलाई ज्ञापनपत्र

spot_img
spot_img

वीरगन्ज,२७ असार । वीरगन्जको आदर्शनगर क्षेत्रमा रहेका २१ जना घरजग्गाधनीले आफूहरूको नाममा दर्ता भई लामो समयदेखि भोगचलन गर्दै आएको जग्गाको स्वामित्वमाथि विवाद उत्पन्न भएको भन्दै प्रतिनिधिसभा सदस्य बुद्धि प्रसाद पन्तलाई ज्ञापनपत्र बुझाएका छन्। उनीहरूले आफ्नो सम्पत्तिको संरक्षण, निष्पक्ष छानबिन र कानुनी प्रक्रिया सुनिश्चित गरिदिन आग्रह गरेका छन्।

ज्ञापनपत्रमा २०२९ सालमा तत्कालीन सरकारले पशुपति आदर्शनगर निर्माण समिति गठन गरी अधिकरण गरिएका जग्गा प्लटिङ गरेर बिक्री वितरण गरेको र त्यसबेला खरिद गरिएका जग्गा २०४६ सालको नयाँ नापीपछि सम्बन्धित खरिदकर्ताकै नाममा विधिवत् दर्ता भएको उल्लेख गरिएको छ। त्यसयता आफूहरू निर्विवाद रूपमा जग्गा भोगचलन गर्दै आएको दाबी गरिएको छ।

पीडितहरूले आफूसँग जग्गा खरिदका प्रमाण, २०४६ सालको नापी दर्ता, फिल्डबुक, हालसाबिक श्रेस्ता, घर निर्माणका लागि स्वीकृत नक्सापास तथा नियमित रूपमा मालपोत कर तिरेको प्रमाणसमेत रहेको बताएका छन्।

ज्ञापनपत्रअनुसार प्रदीप कुमार केडियाले २०२१ सालको नापीका आधारमा श्रीपुर वडा नं. ९ का कित्ता नं. १४ र १५ रुक्मिणी देवी केडियाको नाममा रहेको दाबी गर्दै मालपोत कार्यालय पर्सामा निवेदन दिएका थिए। त्यसपछि मालपोत कार्यालय पर्साका प्रमुख खेमराज खत्रीले २०४६ सालको नापीअनुसार कायम भएको श्रेस्ता बदर गर्ने चेतावनी दिएको, पटक–पटक दबाब दिएको तथा सार्वजनिक रूपमा पनि त्यससम्बन्धी अभिव्यक्ति दिएको आरोप घरजग्गाधनीहरूले लगाएका छन्।

उनीहरूले हालसाबिक भइसकेको जग्गाको श्रेस्ता खारेज गर्ने अधिकार मालपोत कार्यालयसँग नरहेको दाबी गर्दै कार्यालय प्रमुखले अधिकार क्षेत्र नाघेर काम गरेको आरोपसमेत लगाएका छन्। यसका कारण आफूहरू मानसिक, आर्थिक र सामाजिक रूपमा प्रभावित भएको उनीहरूको भनाइ छ।

ज्ञापनपत्रमार्फत पीडितहरूले मालपोत कार्यालय, नापी कार्यालय तथा अन्य सम्बन्धित निकायबीच समन्वय गरी घटनाको निष्पक्ष, स्वतन्त्र र प्रभावकारी छानबिन गर्न तथा वर्षौंदेखि भोगचलन गर्दै आएको सम्पत्तिको कानुनी संरक्षण सुनिश्चित गर्न सांसद पन्तसँग पहल गरिदिन अनुरोध गरेका छन्। साथै, अधिकार क्षेत्रभन्दा बाहिर गएर काम गरेको आरोप लागेका कर्मचारीमाथि आवश्यक कानुनी कारबाहीका लागि सिफारिस गर्न पनि माग गरेका छन्।

उक्त ज्ञापनपत्रमा स्काईलाइन इन्फ्रा प्रालि, होटल पूजन, नविल बैंक लिमिटेड, एसआईसी बैंकसहित विभिन्न संस्था तथा २१ जना घरजग्गाधनीको हस्ताक्षर रहेको जनाइएको छ।

यस विषयमा मालपोत कार्यालय पर्सा, कार्यालय प्रमुख खेमराज खत्री तथा प्रदीप कुमार केडियाको आधिकारिक प्रतिक्रिया भने प्राप्त हुन सकेको छैन।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय