spot_img

शैक्षिक सहिद मुकुन्द प्रसाद खनाल स्मृति प्रतिष्ठानद्वारा वृक्षारोपण

spot_img
spot_img

बीरगन्ज,२७ असार । शैक्षिक सहिद मुकुन्द प्रसाद खनाल स्मृति प्रतिष्ठान, पर्साले वातावरण संरक्षण र हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले बीरगन्ज महानगरपालिका–१६ नगवास्थित माइधिया पोखरी नजिक रहेको गणिनाथ गोविन्द बाबा मन्दिर परिसरमा वृक्षारोपण कार्यक्रम आयोजना गरेको छ।

प्रतिष्ठानकी अध्यक्ष मुना खनालको अध्यक्षता तथा वरिष्ठ समाजसेवी एवं अधिवक्ता प्रकाश उपाध्यायको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विभिन्न प्रजातिका बिरुवा रोपेर वातावरण संरक्षणप्रति सामूहिक प्रतिबद्धता व्यक्त गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि उपाध्यायले विश्वव्यापी रूपमा बढ्दो जलवायु परिवर्तन र ग्लोबल वार्मिङका कारण वातावरणमा गम्भीर असर परिरहेको उल्लेख गर्दै त्यसको प्रभाव न्यूनीकरणका लागि वृक्षारोपण प्रभावकारी उपाय भएको बताए। उनले रुख रोप्ने मात्र नभई त्यसको संरक्षणलाई पनि उत्तिकै प्राथमिकता दिनुपर्नेमा जोड दिए।

प्रतिष्ठानकी अध्यक्ष मुना खनालले प्रकृति संरक्षणलाई भावी पुस्ताप्रतिको जिम्मेवारीका रूपमा लिनुपर्ने बताउँदै वृक्षारोपण अभियानलाई निरन्तर अघि बढाइने जानकारी दिइन्। उनले वातावरण जोगाउने अभियानमा सबै नागरिकको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्दै सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरिन्।

विशिष्ट अतिथि तथा नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति बृजकिशोर पटेलले वृक्षारोपणले वातावरणीय सन्तुलन कायम गर्नुका साथै मानव स्वास्थ्य संरक्षणमा पनि महत्वपूर्ण योगदान पुर्‍याउने भएकाले यस्ता अभियानलाई नियमित रूपमा सञ्चालन गर्नुपर्ने धारणा राखे।

प्रकृति सेवा प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष जसपाल सिंहले प्राकृतिक स्रोतको अत्यधिक दोहनका कारण बाढी, पहिरो, डढेलो, सुख्खा र हावाहुरीजस्ता विपद् बढ्दै गएको उल्लेख गर्दै प्रत्येक नागरिकले आफ्नो वरपर सरसफाइ कायम राख्नुका साथै नियमित रूपमा रुख रोपेर त्यसको संरक्षण गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा नेपाल प्रौढ संघ पर्साका अध्यक्ष नन्द राउत अहिर, बीरगन्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह, प्राध्यापक डा. हरेराम ठाकुर, धार्मिक अगुवा सन्तोष पटेल, आर्य समाज पर्साका अध्यक्ष रितेश गुप्ता, रेलवे माध्यमिक विद्यालय श्रीपुरका प्रधानाध्यापक प्रभु प्रसाद रौनियार, प्रकृति सेवा प्रतिष्ठान नेपालका प्रतिनिधि, प्रतिष्ठानका पदाधिकारी, सञ्चारकर्मी तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रम संयोजक श्रवणबहादुर रायमाझीले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रम सञ्चालन प्रतिष्ठानका सचिव लालबाबु सिंहले गरेका थिए।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय