काठमाडौं,२७ असार । अमेरिका र इरानबीच प्रस्तावित वार्ताअघि वासिङ्टनले तेहरानसँग होर्मुज स्ट्रेटको सुरक्षा सुनिश्चित गर्ने सार्वजनिक प्रतिबद्धता मागेको छ। अमेरिकी प्रशासनले इरानले अन्तर्राष्ट्रिय जलमार्ग खुला राख्ने तथा व्यावसायिक जहाजमाथि आक्रमण नगर्ने स्पष्ट घोषणा गर्नुपर्ने अडान राखेको हो।
अमेरिकी सञ्चारमाध्यम सीबीएस न्यूजका अनुसार ह्वाइट हाउसले इरानले व्यावसायिक जहाजमाथि गोली प्रहार हुनु गल्ती भएको सार्वजनिक रूपमा स्वीकार गर्नुपर्ने अपेक्षा गरेको छ।
रिपोर्टमा उल्लेख भएअनुसार अमेरिकी अधिकारीहरूले इरानले राष्ट्रपति डोनाल्ड ट्रम्पका सल्लाहकारहरूसँग भएको निजी संवादमा जहाजमाथिको आक्रमणलाई गल्तीका रूपमा स्वीकार गरेको दाबी गरेका छन्। यद्यपि, इरानले भने उक्त घटनाको जिम्मेवारी आफ्ना कट्टरपन्थी विद्रोही समूहलाई दिएको बताइएको छ।
इरानको दाबीअनुसार उक्त समूहले अमेरिका–इरानबीच जारी कूटनीतिक संवाद विफल पार्ने उद्देश्यले व्यावसायिक जहाजमाथि आक्रमण गरेको हो।
यसअघि जुन महिनामा अमेरिका र इरानबीच भएको युद्धविराम सम्झौतामा इरानले होर्मुज स्ट्रेटबाट आवतजावत गर्ने व्यावसायिक जहाजहरूको सुरक्षित आवागमन सुनिश्चित गर्ने प्रतिबद्धता जनाएको थियो।
सीबीएस न्यूजका अनुसार अमेरिकी अधिकारीहरूले इरान फेरि वार्तामा फर्किन इच्छुक रहेको संकेत दिएको बताएका छन्। उनीहरूका अनुसार इरानले विगतका घटनाप्रति आत्मस्वीकृति जनाउँदै वार्तालाई निरन्तरता दिन चाहेको सन्देश अमेरिकालाई दिएको छ।




