spot_img

बीरगन्जमा गहवा माई रथ यात्रा भव्य बनाइँदै, सडक विस्तारको काम अस्थायी रूपमा रोक्न आग्रह

spot_img
spot_img

बीरगन्ज,२७ असार । मधेश प्रदेशको प्रमुख धार्मिक आस्थाको केन्द्र श्री गहवा माई मन्दिरमा आयोजना हुने चौथो विशाल रथ यात्रा तथा पावन धार्मिक महोत्सव–२०८३ को सम्पूर्ण तयारी पूरा भएको आयोजक श्री गहवा माई तीर्थ क्षेत्र विकास समितिले जनाएको छ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा समितिले आगामी असार ३२ गते र श्रावण १ गते सञ्चालन हुने दुईदिने धार्मिक महोत्सवको कार्यक्रम सार्वजनिक गर्दै यस वर्ष लाखौँ श्रद्धालुको सहभागिता रहने अपेक्षा गरेको जनाएको हो।

समितिका अनुसार असार ३२ गते बिहान ७ः३० बजे मन्दिर परिसरबाट विधिपूर्वक पूजा–अर्चनासहित रथ यात्राको शुभारम्भ हुनेछ। यस वर्षको रथ यात्राको मुख्य आकर्षणका रूपमा यात्रा मार्गभर हेलिकप्टरबाट पुष्पवर्षा गरिने व्यवस्था गरिएको आयोजकले जनाएको छ। यसले धार्मिक उत्साहलाई थप बढाउने विश्वास व्यक्त गरिएको छ।

त्यसै दिन साँझ मन्दिर परिसरमा चर्चित भजन कलाकारहरूको सहभागितामा सन्ध्या भजन कार्यक्रम आयोजना हुनेछ। श्रावण १ गते बिहान ६ बजेदेखि ५६ भोग पूजा तथा दिउँसो ४ बजेदेखि प्रसाद वितरण र भण्डाराको कार्यक्रम सञ्चालन गरिनेछ।

रथ यात्राका क्रममा लाखौँ श्रद्धालुको सहज आवागमनलाई ध्यानमा राख्दै मेनरोड क्षेत्रमा भइरहेको सडक विस्तार तथा संरचना हटाउने कार्य महोत्सव अवधिभर रोक्न सडक डिभिजन कार्यालयलाई औपचारिक पत्राचार गरिसकिएको समितिले जानकारी दिएको छ।

आयोजकले वीरगञ्जका सामाजिक, धार्मिक, जातीय तथा व्यावसायिक सङ्घ–संस्था, बुद्धिजीवी, नागरिक समाज र सर्वसाधारणलाई रथ यात्रामा सक्रिय सहभागिता जनाउन आह्वान गरेको छ। साथै, रथ यात्रा मार्गमा पर्ने घर तथा व्यावसायिक प्रतिष्ठानमा कलश स्थापना, तोरण सजावट, दीप प्रज्वलन तथा श्रद्धालुका लागि खानेपानी, सर्वतलगायत सेवा उपलब्ध गराई महोत्सवलाई भव्य बनाउन सहयोग गर्न आग्रह गरिएको छ।

पत्रकार सम्मेलनमा महिला संयोजक विभा साह, रथ यात्रा संयोजक बसन्त कुमार गुप्ता, प्रचार–प्रसार उपसमिति संयोजक श्याम प्रसाद गुप्ता, श्री गहवा माई तीर्थ क्षेत्र विकास समितिका अध्यक्ष श्याम पोखरेल, सचिव लक्ष्मीनारायण गुप्ता (पप्पु गुप्ता) लगायत समितिका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

समितिले गहवा माईको रथ यात्रालाई धार्मिक आस्थाको उत्सव मात्र नभई वीरगञ्जको सांस्कृतिक पहिचान, सामाजिक सद्भाव र सामुदायिक एकताको प्रतीकका रूपमा वर्णन गर्दै सबैलाई सहभागी भएर कार्यक्रम सफल बनाउन आग्रह गरेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय