सिरहा,२७ असार । सिरहा जिल्ला अदालतले कर्तव्य ज्यान तथा ज्यान मार्ने उद्योगसम्बन्धी दुई छुट्टाछुट्टै घटनाका अभियुक्तलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको छ। भारतबाट सुटर बोलाएर हत्या र गोली प्रहार गराएको आरोपमा पक्राउ परेका दुई जनालाई अदालतले थुनामा राखेर मुद्दाको सुनुवाइ अघि बढाउन आदेश दिएको हो।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार कर्तव्य ज्यान तथा संगठित अपराध मुद्दाका अभियुक्त उपेन्द्र यादव र ज्यान मार्ने उद्योग तथा संगठित अपराध मुद्दाका अभियुक्त हरी ठाकुर बरहीलाई अदालतको आदेशपछि कारागार पठाइएको हो।
प्रहरीका अनुसार गत पुस १६ गते सिरहा नगरपालिका–७ स्थित मैनावती नदी किनारको बाँसघारीमा ४२ वर्षीय प्रेमनाथ यादवको गोली हानी हत्या गरिएको थियो। अनुसन्धानका क्रममा उपेन्द्र यादवले योजनाबद्ध रूपमा भारतबाट सुटर बोलाएर हत्या गराएको खुलेको प्रहरीले जनाएको छ। वैशाख २७ गते पक्राउ परेका यादवलाई जिल्ला सरकारी वकिल कार्यालयमार्फत अदालतमा उपस्थित गराइएकामा अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।
यस्तै, माघ ४ गते औरही गाउँपालिका–५ स्थित जितिया मन्दिर परिसरमा श्यामसुन्दर ठाकुरमाथि गोली प्रहार भएको घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका हरी ठाकुर बरहीलाई पनि अदालतले कारागार चलान गरेको छ।
प्रहरी अनुसन्धानअनुसार बरहीले पनि भारतबाट सुटर मगाएर श्यामसुन्दर ठाकुरमाथि गोली प्रहार गराएको आरोप लागेको छ। उक्त घटनामा ठाकुर गम्भीर घाइते भएका थिए।
बरहीलाई वैशाख २७ गते सिरहा नगरपालिका–१ हनुमानचोकबाट पक्राउ गरिएको थियो। उनीविरुद्ध ज्यान मार्ने उद्योग र संगठित अपराधसम्बन्धी मुद्दा दर्ता गरिएको थियो। जिल्ला अदालत सिरहाले दुवै अभियुक्तलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।




