spot_img

निष्क्रिय बैंक खाता घटाउन राष्ट्र बैंकको निर्देशन

spot_img
spot_img

काठमाडौं,२७ असार । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा बढ्दै गएका निष्क्रिय खाताको संख्या घटाउन ठोस कार्ययोजना बनाएर आगामी २०८३ पुस मसान्तभित्र कार्यान्वयनमा ल्याउन निर्देशन दिएको छ।

राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले शुक्रबार एकीकृत निर्देशन–२०८२ संशोधन गर्दै ‘क’ वर्गका वाणिज्य बैंक, ‘ख’ वर्गका विकास बैंक र ‘ग’ वर्गका वित्त कम्पनीलाई निष्क्रिय खाता न्यूनीकरणका लागि आवश्यक व्यवस्था गर्न निर्देशन जारी गरेको हो।

संशोधित निर्देशनअनुसार कुनै खाता निष्क्रिय हुनुअघि बैंक तथा वित्तीय संस्थाले सम्बन्धित ग्राहकलाई फोन, एसएमएस, इमेललगायतका माध्यमबाट नियमित रूपमा जानकारी गराउनुपर्नेछ। त्यसैगरी, निष्क्रिय भइसकेका खाता पुनः सक्रिय गराउन कम्तीमा प्रत्येक छ महिनामा ग्राहकलाई सम्पर्क गरी जानकारी गराउनुपर्ने र त्यसको अभिलेखसमेत सुरक्षित राख्नुपर्ने व्यवस्था गरिएको छ।

राष्ट्र बैंकले ग्राहकलाई देशभरका जुनसुकै शाखाबाट, साथै मोबाइल बैंकिङ वा वेब एप्लिकेसनमार्फत पनि सहज रूपमा खाता बन्द गर्न सकिने व्यवस्था मिलाउन निर्देशन दिएको छ।

यदि ग्राहकले शाखा, मोबाइल वा वेब एपमार्फत खाता बन्द गर्न अनुरोध गरेमा उक्त खातामा रहेको रकम ग्राहकले रोजेको अर्को बैंक वा वित्तीय संस्थाको आफ्नै खातामा स्थानान्तरण गरी खाता बन्द गरिदिनुपर्ने व्यवस्था पनि गरिएको छ।

यस्तै, ग्राहकको पहिचान सुनिश्चित गरी देशभरका कुनै पनि शाखाबाट निष्क्रिय खाता पुनः सक्रिय गर्न सकिने प्रणाली विकास गर्न पनि राष्ट्र बैंकले निर्देशन दिएको छ।

साथै, लामो समय निष्क्रिय रहेपछि पुनः सञ्चालनमा आएका खाताबाट हुने अस्वाभाविक वा शंकास्पद कारोबारको निगरानी गर्ने प्रभावकारी प्रणाली विकास गर्न पनि बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले आग्रह गरेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय