रौतहट,२७ असार । पर्याप्त वर्षा नहुँदा रौतहटमा धान रोपाइँ प्रभावित भएको छ। असारको अन्तिम सातासम्म आइपुग्दा पनि अधिकांश खेत बाँझै रहेकाले किसान चिन्तित बनेका छन्।
चन्द्रपुर नगरपालिका–२ सखुवानीका किसान खुशबहादुर बम्जन दैनिकजसो खेत पुगेर वर्षाको प्रतीक्षा गर्दै फर्किने गरेका छन्। रोपाइँका लागि बीउ, जोताइ र खेतको तयारी पूरा भए पनि सिँचाइको अभावमा रोपाइँ सुरु गर्न नसकिएको उनले बताए।
उनका अनुसार गत वर्ष पनि पर्याप्त वर्षा नहुँदा धान खेती प्रभावित भएको थियो। यस वर्ष समयमै रोपाइँ गर्ने तयारी गरे पनि आकाशे पानीको भर पर्नुपरेकाले अवस्था फेरि उस्तै बनेको छ।
सखुवानीकै अर्का किसान कुलदीप चौधरीले पनि पर्याप्त वर्षा नहुँदा धानको बीउ ब्याडमै सुक्न थालेको बताए। वैकल्पिक सिँचाइको व्यवस्था नहुँदा रोपाइँ कहिले सुरु हुने भन्ने अन्योल बढेको उनको भनाइ छ। किरण बम्जन, बाबुराम घिसिङ, उमेश चौधरीलगायत सयौं किसान पनि गत वर्षजस्तै यस वर्ष पनि खेत बाँझै रहने हो कि भन्ने चिन्तामा छन्।
कृषि ज्ञान केन्द्र रौतहटका प्रमुख सुरेन्द्र कुर्मीका अनुसार जिल्लामा करिब ३८ हजार ५०० हेक्टर क्षेत्रफल धान खेतीका लागि उपयुक्त भए पनि हालसम्म ६ हजार १६० हेक्टर क्षेत्रमा मात्रै रोपाइँ सम्पन्न भएको छ। यो कुल क्षेत्रफलको करिब १६ प्रतिशत मात्र हो, जबकि यस अवधिसम्म कम्तीमा ४५ देखि ५० प्रतिशत रोपाइँ सकिनुपर्ने थियो।
उनका अनुसार बागमती सिँचाइ आयोजनाबाट करिब १३ हजार हेक्टर र झाँझ सिँचाइ आयोजनाबाट करिब ४ हजार ५०० हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको छ। यद्यपि जिल्लाका धेरै किसान अझै पनि आकाशे पानीमै निर्भर छन्।
कुर्मीले नारायणी सिँचाइ व्यवस्थापन कार्यालयअन्तर्गतको गण्डक नहरमा पानी सञ्चालन गर्न सके बौधीमाई, राजपुर, परोहा नगरपालिका तथा दुर्गाभगवती गाउँपालिकाका हजारौं हेक्टर खेतमा सिँचाइ सुविधा विस्तार हुने बताए। तर नहर निर्माण भइसके पनि लामो समयदेखि पानी सञ्चालन हुन नसक्दा किसानले अपेक्षित लाभ पाउन सकेका छैनन्।
रौतहटमा कुल ५२ हजार २०० हेक्टर खेतीयोग्य जमिनमध्ये करिब ३८ हजार ५०० हेक्टर क्षेत्रमा प्रत्येक वर्ष धान खेती हुँदै आएको छ। मौसम अनुकूल भई मनसुन सक्रिय बनेर निरन्तर वर्षा भए आगामी केही दिनमै रोपाइँले गति लिन सक्ने कृषि ज्ञान केन्द्रको अनुमान छ।




