वीरगन्ज,२७ असार । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले एसईई–२०८२ मा उत्कृष्ट नतिजा हासिल गरेका ५६ जना विद्यार्थीलाई सम्मान गरेको छ।
वीरगन्जस्थित होटल भिस्वामा आयोजित ‘SEE 2082 Excellence Honor Award’ कार्यक्रममा नेशनल प्याब्सनमा आबद्ध विभिन्न विद्यालयका उत्कृष्ट विद्यार्थीलाई खादा, टीका र सम्मानपत्र प्रदान गर्दै उनीहरूको शैक्षिक उपलब्धिको कदर गरिएको हो।
नेशनल प्याब्सन पर्साका अध्यक्ष जियालाल गुप्ताको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका कार्यवाहक मेयर इम्तियाज आलम प्रमुख अतिथिका रूपमा सहभागी थिए।
कार्यक्रममा नेशनल प्याब्सनका संस्थापक सदस्य रामबिनय चौरसिया, सचिव सुशील भट्टराई, केन्द्रीय सदस्य अर्बिन्द सिंह, पर्सा हिसानका अध्यक्ष मुकेश गुप्ता, प्याब्सन नगर अध्यक्ष राहुल श्रीवास्तवलगायत विभिन्न विद्यालयका प्राचार्य, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष जियालाल गुप्ताले उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थीहरूको मेहनत, अनुशासन र समर्पणको प्रशंसा गर्दै उनीहरूको सफलताले निजी विद्यालयप्रतिको विश्वास अझ मजबुत बनाएको बताए। उनले यस्ता सम्मान कार्यक्रमले विद्यार्थीमा थप उत्साह र नयाँ पुस्तामा उत्कृष्ट प्रदर्शन गर्ने प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरे।
उनले विद्यार्थीको सफलता विद्यालय, शिक्षक, अभिभावक र स्वयं विद्यार्थीको संयुक्त प्रयासको परिणाम भएको उल्लेख गर्दै गुणस्तरीय, व्यवहारिक र प्रतिस्पर्धात्मक शिक्षा प्रदान गर्न नेशनल प्याब्सन पर्सा निरन्तर प्रतिबद्ध रहने बताए।
प्रमुख अतिथि तथा कार्यवाहक मेयर इम्तियाज आलमले सम्मानित विद्यार्थीलाई बधाई दिँदै शिक्षा नै समृद्ध समाज निर्माणको आधार भएको उल्लेख गरे। उनले विद्यार्थीलाई भविष्यमा पनि मेहनत, अनुशासन र सकारात्मक सोचका साथ अघि बढ्न आग्रह गर्दै वीरगञ्जको शैक्षिक विकासमा निजी विद्यालयहरूको महत्वपूर्ण योगदान रहेको बताए।
कार्यक्रममा सम्मानित विद्यार्थी, शिक्षक तथा अभिभावकहरूले यस्तो सम्मानले थप हौसला र जिम्मेवारीको अनुभूति गराएको प्रतिक्रिया दिएका थिए। नेशनल प्याब्सन पर्साले आगामी वर्षहरूमा पनि उत्कृष्ट विद्यार्थीलाई सम्मान गर्ने परम्परालाई निरन्तरता दिने जनाएको छ।




