spot_img

म आफ्नै देश फर्किन्छु, मर्नु परे आफ्नै माटोमा मर्छु शेख हसिनाको घोषणा

spot_img
spot_img

काठमाडौं,२७ असार । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले भारतबाट स्वदेश फर्केर अदालतमा आत्मसमर्पण गर्ने घोषणा गरेकी छन्। आफू पक्राउ पर्ने वा ज्यानसमेत गुमाउनुपर्ने अवस्था आए पनि आफ्नै देश फर्कने अडान उनले दोहोर्‍याएकी हुन्।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्ससँगको अन्तर्वार्तामा ७८ वर्षीया हसिनाले आफू डिसेम्बरमा बंगलादेश फर्कने तयारीमा रहेको र आफूसँगै अवामी लिगका धेरै वरिष्ठ नेताहरूले पनि अदालतमा आत्मसमर्पण गर्ने बताएका छन्। यद्यपि, उनले स्वदेश फर्कने निश्चित मिति भने सार्वजनिक गरेकी छैनन्।

हसिनाले अन्तर्वार्तामा आफूलाई पक्राउ गर्न वा हत्या गर्न सकिने सम्भावना रहेको स्वीकार गर्दै पनि स्वदेश फर्कनुको विकल्प नभएको बताइन्।

उनले भनिन्, “म फर्किएपछि उनीहरूले मलाई पक्राउ गर्न सक्छन्, मार्न पनि सक्छन्। तर म आफ्नै भूमिमा फर्किनैपर्छ। मर्नु परे पनि आफ्नै माटोमा मर्न चाहन्छु, जहाँ मेरा आमाबाबुको समाधि छ र जहाँ उहाँहरूको रगत बगेको छ।”

सन् २०२४ अगस्ट ५ मा बंगलादेशमा चर्किएको विद्यार्थी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री हसिना हेलिकप्टरमार्फत भारत पुगेकी थिइन्। आन्दोलनका क्रममा भएको हिंसात्मक घटनामा करिब १,४०० जनाको मृत्यु भएको आरोप लागेपछि उनीविरुद्ध बंगलादेशमा कानुनी प्रक्रिया अघि बढाइएको थियो।

बंगलादेश सरकारले हसिनालाई स्वदेश फिर्ता पठाउन भारतसँग पटक–पटक आग्रह गरे पनि भारतले हालसम्म त्यसबारे कुनै निर्णय गरेको छैन। हसिना अहिले पनि भारतमै बस्दै आएकी छन्।

हसिना देश छाडेपछि बंगलादेशमा सम्पन्न आमनिर्वाचनबाट नयाँ सरकार गठन भइसकेको छ। उक्त निर्वाचनमा पूर्वप्रधानमन्त्री खालिदा जियाको दल बीएनपीले दुईतिहाइभन्दा बढी सिट जितेको थियो र जियाका छोरा तारिक रहमान प्रधानमन्त्री बनेका छन्। प्रतिबन्धका कारण हसिनाको दल अवामी लिग भने निर्वाचनमा सहभागी हुन पाएको थिएन।

हसिनाले भने उक्त निर्वाचनलाई सुरुदेखि नै ‘पूर्वनियोजित छल र प्रहसन’ भन्दै अस्वीकार गर्दै आएकी छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय