काठमाडौं,२७ असार । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जारी निर्माण कार्यका क्रममा प्रयोग हुने सवारीसाधनले पटक–पटक धावनमार्ग र संवेदनशील क्षेत्रमा अनधिकृत रूपमा प्रवेश गरेपछि उडान सुरक्षामाथि गम्भीर प्रश्न उठेको छ। सुरक्षा निकायका कर्मचारीहरूले यस्ता घटनालाई समयमै नियन्त्रण गर्न नसकिएको भन्दै चिन्ता व्यक्त गरेका छन्।
विमानस्थलमा समानान्तर ट्याक्सीवे लगायतका पूर्वाधार निर्माण भइरहेका बेला असार १५ गते बिहान जजिरा एयरवेजको विमान अवतरणको अन्तिम चरणमा पुगेको समयमा एउटा टिपरले रनवे पार गरेको स्रोतले जनाएको छ। दमकल तथा एयरसाइड व्यवस्थापन टोलीले तत्काल एयर ट्राफिक कन्ट्रोल (एटीसी)लाई जानकारी गराएपछि आवश्यक सतर्कता अपनाइएकाले सम्भावित दुर्घटना टरेको बताइएको छ।
यस्तै, असार २६ गते बिहान भारत उपचारका लागि बिरामी बोकेको विमान उडानको तयारीमा रहेका बेला पनि धावनमार्ग नजिक अर्को टिपर देखिएको थियो। प्रारम्भिक अनुसन्धानमा उक्त सवारीसाधन पनि विमानस्थलको निर्माण आयोजनासँग सम्बन्धित रहेको खुलेको स्रोतको दाबी छ।
विमानस्थल स्रोतका अनुसार यस्ता घटना एक–दुई पटकमा सीमित छैनन्। निर्माण आयोजनामा प्रयोग हुने सवारीसाधन र उपकरणले एयरसाइड क्षेत्रमा पटक–पटक सुरक्षा नियम उल्लंघन गर्दै आवतजावत गर्ने गरेको भए पनि त्यसलाई रोक्न सम्बन्धित निकाय प्रभावकारी रूपमा सक्रिय नभएको आरोप छ।
सुरक्षा अधिकारीहरूका अनुसार विभिन्न वायुसेवा कम्पनीहरूले पनि यसबारे पटक–पटक गुनासो गरे पनि आवश्यक सुनुवाइ र सुधार हुन सकेको छैन। केही कर्मचारीले नयाँ नेतृत्व आएपछि यस्ता घटनालाई गम्भीर सुरक्षा उल्लंघनका रूपमा लिन छाडिएको र कतिपय अवस्थामा औपचारिक प्रतिवेदनसमेत तयार नगर्ने प्रवृत्ति बढेको आरोप लगाएका छन्।
ट्याक्सीवेसम्बन्धी ‘नोटाम’ जारी भए पनि व्यवहारमा अन्तर्राष्ट्रिय सुरक्षा मापदण्ड पूर्ण रूपमा पालना हुन नसकेको कर्मचारीहरूको भनाइ छ। उनीहरूका अनुसार कागजमा सुरक्षा व्यवस्था कडा देखिए पनि कार्यान्वयन कमजोर हुँदा उडान सुरक्षामा थप जोखिम बढिरहेको छ।
स्रोतका अनुसार आयोजना प्रमुखको प्रभावका कारण कर्मचारीहरू खुलेर बोल्नसमेत हिच्किचाउने वातावरण रहेको आरोप छ। यसले निर्माण आयोजनासम्बन्धी सुरक्षा कमजोरीहरू समयमै बाहिर आउन नसकेको र आवश्यक कारबाहीसमेत प्रभावित भएको कर्मचारीहरूको दाबी छ। यद्यपि, यस विषयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रशासनको आधिकारिक प्रतिक्रिया प्राप्त हुन सकेको छैन।
उडान सुरक्षाका जानकारहरूका अनुसार धावनमार्ग वा त्यससँग जोडिएका संवेदनशील क्षेत्रमा कुनै पनि अनधिकृत सवारीसाधन वा उपकरण प्रवेश गर्नु अन्तर्राष्ट्रिय उड्डयन मापदण्डअनुसार गम्भीर सुरक्षा उल्लंघन हो। यस्ता घटनालाई समयमै नियन्त्रण गर्न नसके भविष्यमा उडान सुरक्षा मात्र होइन, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय विश्वसनीयतामै असर पर्न सक्ने उनीहरूको चेतावनी छ।




