वीरगञ्ज, २७ असार – वीरगञ्ज महानगरपालिका–७ अन्तर्गत रेल्वे रोडस्थित नेपाल जिम क्लबको पश्चिमतर्फ जाने सार्वजनिक बाटो करिब दुई महिनादेखि बन्द हुँदा स्थानीय बासिन्दा सास्ती भोग्न बाध्य भएका छन्। एक व्यापारीले आफ्नो निजी बंगलो निर्माणका लागि सार्वजनिक बाटो नै बन्द गराएको भन्दै स्थानीयवासी आक्रोशित बनेका छन्।
स्थानीयका अनुसार नेपाल तथा भारतलगायत विभिन्न देशमा व्यापार गर्दै आएका व्यापारी निरञ्जन चौधरीले आफ्नो घर निर्माणका क्रममा सार्वजनिक बाटो बन्द गराएका हुन्। उनीहरूले वीरगञ्ज महानगरपालिकाका केही कर्मचारी, वडा नं. ७ का वडा अध्यक्ष तथा केही प्रभावशाली व्यक्तिसँगको पहुँच र प्रभावका आधारमा बाटो बन्द गरिएको आरोप लगाएका छन्। केही स्थानीयले यस प्रकरणमा आर्थिक चलखेल भएको आशंका समेत व्यक्त गरेका छन्।
घर निर्माणका क्रममा ठेकेदार कम्पनीले डोजर प्रयोग गरी सडक र नाला भत्काउँदा बाटो भासिएको थियो। त्यसपछि स्थानीयवासीले विरोध जनाएपछि नगर प्रहरीको रोहबरमा ३५ दिनभित्र सडकलाई पुरानै अवस्थामा पुनःनिर्माण गर्ने सहमति भएको थियो। सम्भावित दुर्घटना रोक्न अस्थायी रूपमा बाटो बन्द गरिएको बताइएको थियो।
तर सहमति भएको ७० दिनभन्दा बढी समय बितिसक्दा पनि बाटो पुनः सञ्चालनमा ल्याउन कुनै ठोस काम नभएको स्थानीयको आरोप छ। उनीहरूका अनुसार बाटो बन्द रहँदा नालाको निकाससमेत अवरुद्ध भएको छ, जसका कारण सामान्य वर्षामै टोल डुबानमा पर्न थालेको छ। पानी घर–घरमा पस्न थालेपछि स्थानीयवासी थप समस्यामा परेका छन्।
शुक्रबार राति परेको सामान्य वर्षापछि पनि टोल डुबानमा परेपछि शनिबार बिहान स्थानीयवासीले विरोध प्रदर्शन गरेका थिए। पटक–पटक सम्पर्क गर्दा पनि निर्माणधनी स्थलमा उपस्थित नभएपछि स्थानीयले वीरगञ्ज महानगरपालिकाका कार्यवाहक मेयर इतेयाज आलम र वडा अध्यक्ष हिराकाजीसँग तत्काल हस्तक्षेपको माग गरेका थिए।
विवाद बढेपछि वीरगञ्ज महानगरपालिकाका सरसफाइ शाखा प्रमुख सर्फुदिन मियाँ, नगर प्रहरी प्रमुख हरि भुसाल तथा वडा अध्यक्ष हिराकाजी निर्माणस्थल पुगेका थिए। यद्यपि, सार्वजनिक बाटो कहिलेदेखि सञ्चालनमा आउने भन्ने विषयमा कुनै ठोस निर्णय हुन नसकेको स्थानीयले बताएका छन्।
स्थानीयवासीले महानगरपालिकाको चरम लापरवाहीका कारण सार्वजनिक बाटो लामो समयदेखि बन्द रहेको आरोप लगाएका छन्। उनीहरूले एक निजी व्यक्तिले सार्वजनिक बाटोलाई महिनौँसम्म अवरुद्ध राख्दा पनि सम्बन्धित निकाय मौन बसेको भन्दै प्रश्न उठाएका छन्।
“सार्वजनिक बाटो कुनै व्यक्तिको निजी सम्पत्ति होइन। कानुनभन्दा माथि कोही हुन सक्दैन। यदि साँच्चै सार्वजनिक बाटो अवरुद्ध गरिएको हो भने सम्बन्धित निकायले तत्काल हस्तक्षेप गरी बाटो खुलाउनुपर्छ र दोषीमाथि कानुनी कारबाही गर्नुपर्छ,” स्थानीयवासीको माग छ।
स्थानीयका अनुसार महानगरपालिकाको निष्क्रियता र ढिलासुस्तीका कारण सम्पूर्ण टोलवासीले अनावश्यक दुःख, सास्ती र जोखिम भोग्नुपरेको छ। उनीहरूले सार्वजनिक सम्पत्तिमाथिको अतिक्रमण तत्काल अन्त्य गरी बाटो र नाला पूर्ववत् सञ्चालनमा ल्याउन सम्बन्धित निकायसँग जोडदार माग गरेका छन्।




