काठमाडौं,२७ असार । धनुषाको मिथिला नगरपालिका–९ बडहरीस्थित पूर्व–पश्चिम राजमार्गमा शनिबार बिहान धनुषाधाम नगरपालिकाकी उपमेयर विद्दा भुजेल सवार सरकारी गाडी र एम्बुलेन्स एकआपसमा ठोक्किँदा आठ जना घाइते भएका छन्।
प्रहरीका अनुसार बिहान करिब ६:२० बजे बडहरीबाट विराटनगरतर्फ बिरामी बोकेर जाँदै गरेको ना.२ च २३२ नम्बरको एम्बुलेन्स र ढल्केवरबाट बर्दिबासतर्फ जाँदै गरेको प्रदेश २–०२–००१ झ ००८२ नम्बरको सरकारी गाडी एकआपसमा ठोक्किएर दुर्घटना भएको हो।
दुर्घटनामा एम्बुलेन्स चालकसहित त्यसमा सवार पाँच जना तथा उपमेयर भुजेलसहित सरकारी गाडीमा रहेका तीन जना गरी कुल आठ जना घाइते भएका छन्।
घाइतेमध्ये एम्बुलेन्स चालक दीपेन्द्र कुमार महतो, बसन्त कुमार सिंह, राजु देवी, लक्ष्मी महतो तथा सरकारी गाडीका चालक बद्री भुजेल, उपमेयर विद्दा भुजेल र भीमराज भुजेलको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। एम्बुलेन्समा सवार रेणु कुमारी महतोको अवस्था मध्यम रहेको बताइएको छ।
दुर्घटनामा घाइते भएका सबैलाई उपचारका लागि धनुषाको रमदैयास्थित जानकी मेडिकल कलेज पठाइएको छ। दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।




