काठमाडौं,२७ असार । आत्मदाहपछि ज्यान गुमाएका मुगुका गणेश नेपालीलाई न्याय दिलाउन माग गर्दै शनिबार काठमाडौंस्थित वीर अस्पताल अगाडि प्रदर्शन गरिएको छ।
प्रदर्शनकारीहरूले सरकार र सत्तारूढ पक्षविरुद्ध नाराबाजी गर्दै घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही र पीडित परिवारलाई न्याय दिन माग गरेका छन्। प्रदर्शनका क्रममा प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध पनि नाराबाजी गरिएको थियो।
प्रदर्शनलाई मध्यनजर गर्दै वीर अस्पताल आसपासको क्षेत्रमा उल्लेख्य संख्यामा सुरक्षाकर्मी परिचालन गरी सुरक्षा व्यवस्था कडा पारिएको छ।
यसैबीच, गणेश नेपालीका आफन्तले हालसम्म शव बुझेका छैनन्। पोस्टमार्टमका लागि उनको शव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा राखिएको छ।
सरकारी पक्षले शुक्रबारदेखि नै पीडित परिवारसँग वार्ता सुरु गरे पनि अहिलेसम्म कुनै सहमति हुन नसकेको जनाइएको छ। त्यसैले न्यायको माग गर्दै आन्दोलन जारी रहेको छ।




