काठमाडौँ,२७ असार । नेकपा एमालेका नेता महेश बस्नेतले पछिल्लो समय बढ्दै गएका आत्मदाहका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै नागरिकमा बढ्दो निराशा र असन्तुष्टिका लागि वर्तमान सरकार जिम्मेवार रहेको आरोप लगाएका छन्।
शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै बस्नेतले मुगुका गणेश नेपालीको आत्मदाहबाट उत्पन्न आक्रोश शान्त नहुँदै सर्लाहीको गोडैता नगरपालिकाका २५ वर्षीय विवेक मण्डल र काठमाडौंको बुद्धनगरका ४५ वर्षीय अश्विन राउतले पनि आत्मदाहको प्रयास गरेको घटनाले देशको अवस्था थप चिन्ताजनक बनेको बताएका छन्।
उनले आत्मदाहको प्रयास गर्ने दुवै व्यक्तिको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै यस्ता घटनाले नागरिकहरू किन यति धेरै निराश, आक्रोशित र असहाय बन्दै गएका छन् भन्ने गम्भीर प्रश्न उठाएको उल्लेख गरेका छन्।
बस्नेतले वर्तमान सरकारले पुराना राजनीतिक दल र नेतामाथि झुटा आरोप लगाएर तथा भ्रम सिर्जना गरेर जनतामा ठूलो अपेक्षा जगाएको दाबी गरे। ती अपेक्षाअनुसार परिणाम दिन नसक्दा अहिले जनतामा निराशा र असन्तुष्टि बढेको उनको भनाइ छ।
उनले नेतृत्वको मुख्य जिम्मेवारी जनतालाई भ्रम होइन, भरोसा दिनु भएको उल्लेख गर्दै जनविश्वास कायम गर्न संवाद, जिम्मेवारी र सुशासनका माध्यमबाट समस्याको समाधान खोज्नुपर्नेमा जोड दिएका छन्।
बस्नेतले जीवनभन्दा ठूलो कुनै कुरा नभएको उल्लेख गर्दै कुनै पनि समस्या वा पीडाको समाधान आत्मदाह वा हिंसा हुन नसक्ने बताए। यस्ता घटना दोहोरिन नदिन सरकार गम्भीर बन्नुपर्ने भन्दै नागरिकको आक्रोशलाई समयमै सम्बोधन गर्न नसके त्यसको राजनीतिक जिम्मेवारी सरकारले नै वहन गर्नुपर्ने चेतावनी पनि दिएका छन्।




