spot_img

आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका ४५ वर्षीय व्यवसायी आश्विन राउतको अवस्था गम्भीर

spot_img
spot_img

काठमाडाैं,२७ असार । काठमाडौंको बुद्धनगरमा आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका ४५ वर्षीय व्यवसायी आश्विन राउतको अवस्था गम्भीर रहेको छ। उनको वीर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान काठमाडौं महानगरपालिका–१० बुद्धनगरस्थित आफ्नै घरमा राउतले शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। गम्भीर रूपमा घाइते भएका उनलाई तत्काल उद्धार गरी वीर अस्पताल लगिएको थियो।

अस्पताल स्रोतका अनुसार राउतको शरीरको करिब ६० प्रतिशत भाग जलेको छ र उनको अवस्था चिन्ताजनक छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार पारिवारिक विवादका कारण उनले आत्मदाहको प्रयास गरेको देखिएको छ। घटना हुँदा उनकी श्रीमती र छोरा घरमा नभएको तथा अघिल्लो दिन छोरासँग केही विषयमा विवाद भएको जानकारी प्राप्त भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले बताएका छन्।

यससँगै पछिल्लो तीन दिनभित्र देशका विभिन्न स्थानमा आत्मदाहका तीन वटा घटना भएका छन्। बिहीबार मुगुका गणेश नेपालीले नगर प्रहरीसँगको विवादपछि काठमाडौंमा आत्मदाह गरेका थिए। उपचारका क्रममा शुक्रबार वीर अस्पतालमा उनको मृत्यु भएको थियो।

यस्तै, शुक्रबार सर्लाहीको गोडैता नगरपालिका–१० का ३५ वर्षीय विवेक मण्डलले पनि आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। गम्भीर घाइते भएका उनलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याएर उपचार भइरहेको छ।

लगातार आत्मदाहका घटना सार्वजनिक हुन थालेपछि नागरिकको मानसिक स्वास्थ्य, सामाजिक समस्या र संकट व्यवस्थापनबारे व्यापक बहस सुरु भएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय