काठमाडौं,२७ असार । काठमाडौंको बुद्धनगरमा आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका ४५ वर्षीय अश्विन राउतको उपचारका क्रममा निधन भएको छ।
प्रहरीका अनुसार शनिबार बिहान काठमाडौं महानगरपालिका–१० बुद्धनगरस्थित आफ्नै घरको भान्सामा राउतले शरीरमा आगो लगाएका थिए। गम्भीर रूपमा जलेका उनलाई तत्काल उद्धार गरी वीर अस्पताल पुर्याइएको थियो।
उपचारमा संलग्न चिकित्सक डा. पियुष दाहालका अनुसार राउतको शरीरको करिब ५५ प्रतिशत भाग जलेको थियो। गम्भीर जलनका कारण उपचारकै क्रममा उनको मृत्यु भएको हो।
घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ। प्रारम्भिक जानकारीअनुसार यो आत्मदाहको प्रयास भएको देखिएको छ। राउतको मृत्युसँगै पछिल्ला केही दिनयता देशमा भएका आत्मदाहका घटनाले नागरिकको मानसिक स्वास्थ्य, पारिवारिक तथा सामाजिक समस्याबारे गम्भीर बहस सिर्जना गरेको छ।




