spot_img

भारतीय विमानस्थलबाट श्रमिक पठाउने १५९ म्यानपावर कम्पनी कारबाहीमा

spot_img
spot_img

काठमाडौं,२८ असार । वैदेशिक रोजगार विभागले विभागको पूर्वस्वीकृतिबिना भारतीय विमानस्थल प्रयोग गरेर नेपाली श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने १५९ म्यानपावर कम्पनीलाई कारबाही गरेको छ। विभागले वैदेशिक रोजगार ऐन, २०६४ विपरीत कार्य गरेको ठहर गर्दै ती कम्पनीलाई पहिलो चरणमा सचेत गराएको जनाएको छ।

विभागले २०८२ चैत १ गतेदेखि २०८३ जेठ मसान्तसम्म श्रम स्वीकृति लिएर विदेश गएका नेपाली श्रमिकहरूको उडान विवरण माग गरी अनुगमन गरेको थियो। अध्ययनको उद्देश्य इजाजतप्राप्त म्यानपावर कम्पनीहरूले कानुनअनुसार स्वदेशी विमानस्थल प्रयोग गरे–नगरेको अवस्था मूल्यांकन गर्नु रहेको विभागले जनाएको छ।

हाल सञ्चालनमा रहेका एक हजार ११७ इजाजतप्राप्त म्यानपावर कम्पनीमध्ये ६७८ कम्पनीले मात्र मागिएको विवरण बुझाएका थिए। तीमध्ये १५९ कम्पनीले विभागको अनुमति नलिई भारतका विमानस्थल प्रयोग गरी श्रमिक विदेश पठाएको भेटिएको हो।

यस्तै, विभागले मागेको विवरण नै पेश नगर्ने ४३९ म्यानपावर कम्पनीलाई पनि पहिलो पटक सचेत गराउँदै तत्काल आवश्यक विवरण उपलब्ध गराउन निर्देशन दिएको छ। विभागका अनुसार ती कम्पनीले वैदेशिक रोजगार ऐनको दफा ३७ उल्लंघन गरेका छन्।

यसैबीच, पटक–पटक कानुन र विभागीय निर्देशन उल्लंघन गर्ने आठ म्यानपावर कम्पनीलाई जनही ५० हजार रुपैयाँका दरले जरिबाना गरिएको छ। तीमध्ये तीन कम्पनीले पुनः भारतका विमानस्थलबाट श्रमिक पठाएको र पाँच कम्पनीले विभागले मागेको विवरण नबुझाएका कारण आर्थिक दण्ड गरिएको विभागले जनाएको छ।

विभागले वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्ने सबै संस्थालाई कानुन, नियम र विभागीय निर्देशनको पूर्ण पालना गर्न आग्रह गर्दै भविष्यमा यस्ता गतिविधि दोहोरिए थप कडा कारबाही गरिने चेतावनी दिएको छ।

वैदेशिक रोजगार ऐनअनुसार नेपाली श्रमिकलाई विदेश पठाउँदा नेपालकै विमानस्थल प्रयोग गर्नुपर्ने व्यवस्था छ। विशेष परिस्थितिमा विदेशी विमानस्थल प्रयोग गर्नुपर्ने भए विभागबाट पूर्वस्वीकृति लिनुपर्ने कानुनी प्रावधान छ। पछिल्लो समय केही म्यानपावर कम्पनीले भारतीय विमानस्थल हुँदै श्रमिक पठाउने गरेको गुनासो बढेपछि विभागले उडान विवरण संकलन गरी अनुगमन थालेको थियो।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय