spot_img

आज राति वर्षा थप सक्रिय हुने, तीन प्रदेशमा अति भारी वर्षाको सम्भावना

spot_img
spot_img

काठमाडौं,२८ असार । देशभर मनसुन सक्रिय भइरहेका बेला आज राति वर्षाको गतिविधि थप बढ्ने भएको छ। जल तथा मौसम विज्ञान विभागले विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा धेरै भारीदेखि अति भारी वर्षा हुन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।

मौसमविद् डेभिड ढकालका अनुसार मनसुन ट्रफ नेपालका मध्य भागभन्दा माथि र तराई क्षेत्र नजिक रहेकाले दिउँसोको तुलनामा रातिको समयमा वर्षा बढी सक्रिय हुने अवस्था बनेको हो।

विभागका अनुसार आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा मधेशसहित ती प्रदेशका तराईका एक–दुई स्थानमा धेरै भारीदेखि अति भारी वर्षा हुन सक्ने सम्भावना छ।

यस जोखिमलाई ध्यानमा राख्दै विभागले कोशी प्रदेश, बागमती प्रदेशका पहाडी तथा हिमाली भूभाग, मधेश प्रदेश र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा ‘सुन्तला’ (सतर्कता) संकेत जारी गरेको छ। साथै बागमतीको तराई, गण्डकीको हिमाली तथा तराई, लुम्बिनीका पहाडी तथा तराई र कर्णालीका पहाडी क्षेत्रमा पनि मौसमसम्बन्धी सूचना नियमित रूपमा अद्यावधिक गर्न आग्रह गरिएको छ।

यद्यपि कर्णालीको हिमाली क्षेत्र तथा सुदूरपश्चिम प्रदेशका अधिकांश भागमा तत्कालका लागि विशेष चेतावनी जारी गरिएको छैन।

भोलि पनि वर्षा बढ्ने, पर्सिबाट क्रमशः कम हुने अनुमान

विभागका अनुसार भोलि पनि देशका विभिन्न क्षेत्रमा वर्षाको गतिविधि केही बढ्ने सम्भावना रहेको छ। तर पर्सिदेखि भने मनसुनी गतिविधि क्रमशः कमजोर हुँदै जाने अनुमान गरिएको छ।

पछिल्लो २४ घण्टामा ताप्लेजुङमा सबैभन्दा धेरै वर्षा

विभागका तथ्यांकअनुसार पछिल्लो ६ घण्टामा लुम्बिनी प्रदेशका धेरै स्थान तथा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा मध्यम वर्षा भएको छ। यस अवधिमा बर्दियाको सानो चेपाङ वर्षा मापन केन्द्रमा ३६ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा ताप्लेजुङको तापेथोक केन्द्रमा ८८.२ मिलिमिटर र उदयपुरको गाईघाट केन्द्रमा ८०.४ मिलिमिटर वर्षा मापन भएको विभागले जनाएको छ। सोही अवधिमा कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षासमेत भएको छ।

दिउँसो पनि वर्षाको सम्भावना

आज दिउँसो देशका हिमाली क्षेत्रमा केही स्थानमा वर्षासँगै हिमपात हुन सक्ने विभागको अनुमान छ। पहाडी भूभागका अधिकांश स्थानमा मध्यम वर्षा हुने सम्भावना छ भने कोशी, बागमती र गण्डकीका तराई क्षेत्रमा पनि धेरै स्थानमा वर्षा हुने पूर्वानुमान गरिएको छ।

मधेश, लुम्बिनी र सुदूरपश्चिमका तराईका केही स्थानमा मध्यम वर्षा हुने तथा मधेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले नदी–नाला आसपास, पहिरो जोखिमयुक्त क्षेत्र र शहरी डुबान हुन सक्ने स्थानमा आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय