सप्तरी,२८ असार । डुबानको समस्या समाधान गर्न माग गर्दै सप्तरीको बोदेबरसाईन नगरपालिका–५ स्थित राजविराज–बलान हुलाकी सडक खण्ड स्थानीयवासीले अवरुद्ध गरेका छन्। कल्भर्टबाट पानी निकास हुन नसक्दा बस्ती र खेतीयोग्य जमिन जलमग्न भएपछि स्थानीय आन्दोलनमा उत्रिएका हुन्।
स्थानीयका अनुसार हुलाकी सडकअन्तर्गत रहेको कल्भर्टमा पानीको निकास अवरुद्ध हुँदा करिब १० घर तथा ७ विघाभन्दा बढी खेतीयोग्य जमिन डुबानमा परेको छ। लगातारको डुबानका कारण स्थानीयको दैनिक जीवनसँगै कृषिमा समेत ठूलो क्षति पुगेको उनीहरूको भनाइ छ।
बोदेबरसाईन नगरपालिका–४ का वडा अध्यक्ष किरणकुमार साहले कल्भर्टमा पानी जम्दा स्थानीयले लामो समयदेखि सास्ती भोगिरहेको बताउँदै समस्या समाधानका लागि सम्बन्धित निकायले तत्काल पहल गर्नुपर्ने आवश्यकता औंल्याए।
स्थानीय मोहम्मद इसराइलका अनुसार विगत १५ दिनदेखि घरहरू डुबानमा परेका छन्। नगरपालिकालाई पटक–पटक जानकारी गराउँदा पनि कुनै सुनुवाइ नभएपछि बाध्य भएर सडक अवरुद्ध गर्नुपरेको उनले बताए।
स्थानीयको आन्दोलनका कारण राजविराज–बलान हुलाकी सडक खण्डमा सवारी आवागमन प्रभावित भएको छ। पानी निकासको स्थायी समाधान नभएसम्म आन्दोलन जारी रहने चेतावनी स्थानीयले दिएका छन्।




