काठमाडौँ,२८ असार । प्रमुख विपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुकुमबासी बस्तीबाट विस्थापित नागरिकलाई सरकारले सुरक्षित व्यवस्थापन गर्न नसकेको भन्दै कडा आलोचना गरेका छन्। उनले जोखिमबाट जोगाउने नाममा सुकुमबासीलाई झन् ठूलो जोखिममा धकेलिएको आरोप लगाएका हुन्।
आइतबार जारी विज्ञप्तिमार्फत आङ्देम्बेले कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा बाढी पसेपछि त्यहाँ आश्रय लिइरहेका सुकुमबासी नागरिकको अवस्था दयनीय बनेको उल्लेख गर्दै सरकारको व्यवस्थापनमाथि प्रश्न उठाएका छन्।
उनले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सरकार गठनपछि असुरक्षित स्थानमा रहेका नागरिकलाई सुरक्षित र व्यवस्थित रूपमा स्थानान्तरण गर्ने सार्वजनिक प्रतिबद्धता व्यक्त गरेको स्मरण गराउँदै अहिलेको अवस्थाले त्यो वाचा पूरा नभएको देखिएको बताएका छन्।
आङ्देम्बेका अनुसार सुरक्षित आश्रयको अपेक्षा गरेका सुकुमबासी अहिले पुनः भोक, पानी, हिलो, अभाव र असुरक्षाबीच जीवन बिताउन बाध्य भएका छन्। उनले यसलाई सरकारको गैरजिम्मेवारी, संवेदनहीनता र असफल शासनको उदाहरणका रूपमा चित्रण गरेका छन्।
उनले कीर्तिपुर होल्डिङ सेन्टर पुगेर पीडितको अवस्था बुझ्न र सरकारसँग जवाफ माग्न गएका माजिद अन्सारीसहितका युवालाई नियन्त्रणमा लिइएको घटनाप्रति पनि आपत्ति जनाएका छन्। लोकतान्त्रिक व्यवस्थामा नागरिकले प्रश्न उठाउनु अपराध हुन नसक्ने भन्दै उनले सरकारको कदम अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारविरुद्ध भएको टिप्पणी गरेका छन्।
आङ्देम्बेले प्रधानमन्त्रीलाई सुकुमबासीसँग गरिएको सार्वजनिक प्रतिबद्धताको जवाफ दिन आग्रह गर्दै नागरिकसँग गरिएका वाचा कार्यान्वयन गर्नु सरकारको दायित्व भएको बताएका छन्।




