spot_img

सरकारको १०० दिनमै ‘निरंकुशताको गन्ध’ आयो : राजेन्द्र महतो

spot_img
spot_img

काठमाडौँ,२८ असार । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री राजेन्द्र महतोले सरकारको १०० दिने कार्यसम्पादनप्रति असन्तुष्टि व्यक्त गर्दै सरकारले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाएका छन्। उनले सरकार समयमै नसच्चिए जनताको धैर्यको बाँध टुट्न सक्ने चेतावनी दिएका छन्।

आइतबार सार्वजनिक वक्तव्य जारी गर्दै महतोले वर्तमान सरकारले न्याय, समावेशिता र संवेदनशील शासनको अपेक्षा विपरीत पुरानै सोच र कार्यशैलीलाई निरन्तरता दिएको दाबी गरे। उनले सय दिनमै सरकारको कामकारबाहीबाट ‘पुरानै निरंकुशताको गन्ध’ आउन थालेको टिप्पणी गरेका छन्।

महतोका अनुसार हालको जनादेश केवल सरकार परिवर्तनका लागि नभई जनताले वर्षौंदेखि भोग्दै आएको असन्तुष्टि, विभेद र परिवर्तनको चाहनाको अभिव्यक्ति हो। यद्यपि सरकारको प्रारम्भिक कार्यशैलीले नयाँ आशा जगाउन नसकेको उनको भनाइ छ।

उनले गरिब तथा सुकुमबासी बस्तीमा डोजर चलाउने, सीमावर्ती क्षेत्रमा सर्वसाधारणमाथि कठोर व्यवहार गर्ने, समानुपातिक समावेशितालाई कमजोर बनाउने तथा मेरिटोक्रेसीको नाममा विभेदलाई संस्थागत गर्ने प्रयास भइरहेको आरोप लगाए।

बजेटप्रति पनि असन्तुष्टि जनाउँदै महतोले सरकारले किसान, युवा, महिला र प्रदेशका आवश्यकतालाई बेवास्ता गरेको तथा शिक्षा र स्वास्थ्यजस्ता आधारभूत क्षेत्रमा कर लगाउने नीति जनविरोधी भएको दाबी गरेका छन्।

गणेश नेपालीको आत्मदाहको घटनालाई उल्लेख गर्दै उनले राज्य मानवीय संवेदनाभन्दा कानुनी प्रक्रियामा मात्रै केन्द्रित भएको आरोप लगाए।

संविधान संशोधनको बहसमा महतोले संघीयतालाई कमजोर बनाउने प्रयास भइरहेको टिप्पणी गरे। उनले प्रधानमन्त्री **बालेन्द्र शाह (बालेन)**ले मधेश आन्दोलनका शहीदप्रति श्रद्धाञ्जली व्यक्त गर्दै ‘जय मधेश’ र ‘बलियो संघीयता’को प्रतिबद्धता जनाएको स्मरण गराउँदै ती वाचा कार्यान्वयन भएको नदेखिएको बताए।

महतोले संघीयता हजारौं नागरिकको बलिदानबाट प्राप्त उपलब्धि भएकाले यसलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। साथै मधेसी, थारु, लिम्बुवान, मगरात–खसान, दलित, मुस्लिम तथा पिछडावर्गका माग सम्बोधन गर्न सरकारलाई आग्रह गरेका छन्।

वक्तव्यमा राष्ट्रिय मुक्ति पार्टी नेपालले १० प्रदेश र २४ स्वायत्त क्षेत्रसहित राज्य पुनर्संरचना, समानुपातिक समावेशिता, प्रादेशिक भाषामा सरकारी सेवा, ८ बुँदे सम्झौताको कार्यान्वयन, आन्दोलनकारीमाथिका मुद्दा फिर्ता तथा लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग पुनः दोहोर्‍याएको छ।

महतोले लोकतान्त्रिक, पहिचानवादी र परिवर्तनकामी शक्तिहरूलाई साझा अभियानमा एकजुट हुन आह्वान गर्दै समावेशी, स्वशासित र समृद्ध नेपालको निर्माणमा सबै पक्षले भूमिका खेल्नुपर्ने बताएका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय