काठमाडौँ,२८ असार । मिटरब्याज पीडितहरूले न्यायको माग गर्दै जनकपुरबाट सुरु गरेको पैदल न्याय मार्च चौथो दिनमा प्रवेश गरेको छ। असार २५ गतेदेखि सुरु भएको यात्रा आइतबार सर्लाहीको लालबन्दीबाट काठमाडौंतर्फ अघि बढेको हो।
आयोजकका अनुसार राज्यको ध्यानाकर्षण गराउँदै मिटरब्याज पीडितको हकअधिकार सुनिश्चित गराउने उद्देश्यले सुरु गरिएको यो यात्रा काठमाडौं नपुग्दासम्म नरोकिनेछ।
मार्चमा सहभागी सयौं पीडितले ‘चुपचाप तमसूक फाड’, ‘अधिकार माग्न काठमाडौं जान पर्दैन’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरिरहेका छन्। उनीहरू दैनिक करिब २० देखि २६ किलोमिटर पैदल यात्रा गर्दै राजधानीतर्फ अघि बढिरहेका छन्।
आयोजकहरूले सरकारसँग यसअघि चार पटक सहमति भए पनि कुनै पनि प्रतिबद्धता कार्यान्वयन नभएकाले पुनः आन्दोलन गर्न बाध्य भएको बताएका छन्। सरकारमाथि दबाब सिर्जना गर्दै आफ्ना माग कार्यान्वयन गराउन काठमाडौंसम्मको पदयात्रा जारी राखिएको उनीहरूको भनाइ छ।
पीडितहरू करिब एक साताभित्र काठमाडौं पुग्ने र त्यहाँ पुगेपछि थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने तयारीमा रहेको आयोजकहरूले जनाएका छन्।




