काठमाडौँ,२८ असार । नेपाली कांग्रेसका महामन्त्री तथा पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रमा वास्तविक सुधारका लागि केवल प्रतीकात्मक परिवर्तन पर्याप्त नहुने बताएका छन्। उनले अस्पतालको फार्मेसीको बोर्ड परिवर्तन गर्दैमा नागरिकले गुणस्तरीय र सुलभ स्वास्थ्य सेवा पाउन नसक्ने टिप्पणी गरेका छन्।
आइतबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पौडेलले स्वास्थ्य क्षेत्रमा दीर्घकालीन नीति, प्रभावकारी कार्यान्वयन र व्यावहारिक सुधार आवश्यक रहेको उल्लेख गरेका छन्।
उनले आफू स्वास्थ्य मन्त्रालयको जिम्मेवारीमा रहँदा सर्वसाधारणलाई सस्तो र सहज रूपमा औषधि उपलब्ध गराउने उद्देश्यले विभिन्न नीतिगत सुधारको आधार तयार गरिएको दाबी गरे। उनका अनुसार देशभर औषधिको समान मूल्य निर्धारण तथा आपूर्ति प्रणाली व्यवस्थित गर्न सेन्ट्रल बिडिङ (लोकल पर्चेजिङ) को तयारी गरिएको थियो।
पौडेलले विज्ञहरूको अध्ययनका आधारमा जेनेरिक औषधिको मूल्य निर्धारण, औषधिको मूल्य समायोजनसम्बन्धी नीतिगत व्यवस्था तथा औषधि, स्वास्थ्य सामग्री, कस्मेटिक र अतिरिक्त खाद्य पोषणको नियमनका लागि नयाँ विधेयक र निर्देशिका तयार गरी रायका लागि पठाइएको जानकारी पनि दिएका छन्।
उनले आवश्यक बजेट व्यवस्थापन भइसके पनि पछिल्लो समय ती नीतिगत सुधारका कामहरू ओझेलमा परेको भन्दै चिन्ता व्यक्त गरेका छन्। स्वास्थ्य क्षेत्रमा नागरिकले प्रत्यक्ष रूपमा राहत महसुस गर्ने गरी दीर्घकालीन र परिणाममुखी सुधारका कार्यक्रम अघि बढाउन सरकारको ध्यानाकर्षण गराएका छन्।




