रौतहट,२८ असार । रौतहटको कटहरिया नगरपालिका–३ बरेडवामा एक नवविवाहित महिलाको शंकास्पद मृत्यु भएपछि प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको छ। माइती पक्षले भने दाइजोको विषयलाई लिएर हत्या गरिएको आरोप लगाएको छ।
प्रहरीका अनुसार कटहरिया–३ बरेडवाका निरजकुमार साह सोनारकी करिब २० वर्षीया श्रीमती निशा कुमारी साह सोनार शनिबार आफ्नै सुत्ने कोठामा साडीको पासो लगाई बाँसको कोरोमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन्।
घटनाको जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय कटहरियाबाट सई लालबाबु सहनीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। त्यसपछि इलाका प्रहरी कार्यालय गरुडाका इन्स्पेक्टर प्रमोद खड्काको नेतृत्वमा पुगेको टोलीले घटनास्थलको मुचुल्का तयार गरी कानुनी प्रक्रिया पूरा गरेको प्रहरीले जनाएको छ।
शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको छ। प्रहरीले पोस्टमार्टम प्रतिवेदन र अन्य प्रमाणका आधारमा घटनाको वास्तविक कारण खुल्ने जनाएको छ।
यता मृतकका बुबा रबिन्द्र साह सोनारले आफ्नी छोरीको हत्या गरिएको आरोप लगाएका छन्। उनका अनुसार छोरीको विवाह गत फागुनमा भएको थियो र त्यसयता ज्वाइँ तथा उनका परिवारले एसी, नगदलगायत थप दाइजोको माग गर्दै मानसिक तथा शारीरिक यातना दिँदै आएका थिए।
उनले घटनालाई आत्महत्याजस्तो देखाउन शव झुन्ड्याइएको दाबी गर्दै घटनापछि मृतकका श्रीमान घर छाडेर फरार भएको आरोप पनि लगाएका छन्।
घटनापछि स्थानीयवासी र मृतकका आफन्तले निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न माग गरेका छन्।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी वसन्त गौतमले घटनाबारे सबै पक्षबाट प्रमाण संकलन भइरहेको र पोस्टमार्टम प्रतिवेदन तथा अनुसन्धानपछि मात्रै वास्तविक कारण खुल्ने बताए। हाल अनुसन्धान जारी रहेकाले कसैलाई दोषी ठहर गरिहाल्न नमिल्ने उनको भनाइ छ।




