spot_img

अविरल वर्षापछि पर्सामा धान रोपाइले गति लियो, मल अभावले किसान चिन्तित

spot_img
spot_img

वीरगन्ज,२८ असार । लामो समयसम्म वर्षा नहुँदा खडेरीको चिन्तामा रहेका पर्साका किसानहरू अविरल वर्षापछि राहत महसुस गर्न थालेका छन्। शनिबार रातिदेखि परेको लगातार वर्षाले आकासे पानीमा निर्भर किसानलाई धान रोपाइका लागि अनुकूल वातावरण बनेपछि जिल्लाका ग्रामीण क्षेत्रमा रोपाइले तीव्रता लिएको छ। तर रासायनिक मलको अभाव भने अझै किसानको मुख्य चिन्ताको विषय बनेको छ।

सखुवाप्रसौनी गाउँपालिका–५ का किसान शिवलाल यादवका अनुसार वर्षा नहुँदा धानको बेर्ना तयार भए पनि खेतमा रोप्न सकिएको थिएन। लगातार पानी परेपछि अहिले ‘सोना मन्सुली’ जातको अगहनी धानको रोपाइ तीव्र रूपमा भइरहेको छ।

उनले अब करिब एक साताभित्र रोपाइ सकिने विश्वास व्यक्त गर्दै वर्षाले खेतमा पर्याप्त चिस्यान पुगेपछि काम गर्न सहज भएको र कृषि मजदुरसमेत सहज रूपमा उपलब्ध हुन थालेको बताए।

यस्तै, पटेर्वासुगौली गाउँपालिका–२ का किसान महेन्द्र साहले सिँचाइ सुविधा भएका क्षेत्रमा अधिकांश किसानले बोरिङ, कुलो र बाँधको पानी प्रयोग गरी करिब ९५ प्रतिशत रोपाइ यसअघि नै सम्पन्न गरिसकेको बताए। उनका अनुसार पछिल्लो वर्षाले बाँकी खेतमा पनि रोपाइलाई गति दिएको छ।

यद्यपि वर्षाले राहत दिए पनि किसानहरू युरिया र डीएपी मलको अभावले उत्पादनमा असर पर्ने चिन्तामा छन्। किसान शिवलाल यादवले समयमै मल उपलब्ध नभए राम्रो वर्षा भए पनि अपेक्षित उत्पादन लिन कठिन हुने बताए। उनका अनुसार धान रोपेपछि निश्चित समयमा मल प्रयोग गर्न नसके बोटको वृद्धि कमजोर भई उत्पादन घट्ने जोखिम रहन्छ।

कृषि प्राविधिकहरू पनि धानबालीको प्रारम्भिक अवस्थामै नाइट्रोजनयुक्त मल आवश्यक पर्ने बताउँछन्। समयमै मल प्रयोग गर्न नसके उत्पादनमा प्रत्यक्ष असर पर्ने उनीहरूको भनाइ छ।

पर्साका अधिकांश खेतीयोग्य क्षेत्र अझै पनि आकासे पानीमा निर्भर छन्। सीमित सिँचाइ सुविधाका कारण वर्षा ढिलो हुँदा हरेक वर्ष किसानले समस्या भोग्दै आएका छन्। यस वर्ष पनि असारको अधिकांश समय वर्षा नहुँदा किसान चिन्तित भए पनि पछिल्लो वर्षाले रोपाइलाई गति दिएको हो।

स्थानीय किसानहरूले अब निरन्तर अनुकूल वर्षा भइरहनुका साथै सरकारले समयमै रासायनिक मल, कृषि सामग्री र प्राविधिक सेवा उपलब्ध गराए यस वर्ष धान उत्पादन राम्रो हुने अपेक्षा गरेका छन्। साथै सिँचाइ सुविधा विस्तार र कृषि सामग्रीको सहज आपूर्तिका लागि सम्बन्धित निकायको ध्यानाकर्षणसमेत गराएका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय