काठमाडौं,२८ असार । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ का लागि अन्तर्राष्ट्रिय हवाई टिकट तथा ट्राभल एजेन्सी सेवा उपलब्ध गराउन ११ वटा ट्राभल कम्पनी छनोट गरेको छ।
राष्ट्र बैंकको सम्पत्ति तथा सेवा व्यवस्थापन विभागले सूचना जारी गर्दै आवश्यक योग्यता पूरा गरेका कम्पनीहरूलाई सूचीकृत गरिएको जनाएको हो। सूचीकृत कम्पनीहरूलाई सूचना प्रकाशित भएको मितिले सात कार्यदिनभित्र खरिद एकाइमा उपस्थित भई सम्झौता प्रक्रिया पूरा गर्न आग्रह गरिएको छ।
छनोटमा परेका कम्पनीहरूमा एभरेष्ट मिराकल ट्राभल्स एण्ड टुर्स, सी लिंक ट्राभल्स एण्ड टुर्स, डिजायर नेपाल ट्रेक्स ट्राभल्स एण्ड टुर्स, आईएमई ट्राभल्स, बोन ट्राभल एण्ड टुर्स, सुरुची ट्राभल्स एण्ड टुर्स, अर्बिट इन्टरनेशनल ट्राभल्स, मुन सन ट्राभल्स एण्ड टुर्स, अउरो ट्राभल एण्ड टुर्स, स्मार्ट ट्राभल सर्भिसेस तथा प्रिसियस ट्राभल्स एण्ड टुर्स रहेका छन्।
राष्ट्र बैंकले छनोटका लागि अन्तर्राष्ट्रिय हवाई यातायात संगठन (IATA) को सदस्यता, कम्तीमा पाँच वर्षको कार्य अनुभव तथा पछिल्ला तीन आर्थिक वर्षको औसत वार्षिक कारोबार ५ करोड रुपैयाँभन्दा बढी हुनुपर्ने लगायतका मापदण्ड तय गरेको थियो।
यसका साथै छनोट भएका प्रत्येक कम्पनीले राष्ट्र बैंकको धरौटी खातामा ५ लाख रुपैयाँ धरौटी राख्नुपर्ने व्यवस्था गरिएको छ। सम्झौता सम्पन्न भएपछि यी कम्पनीहरूले आगामी आर्थिक वर्षभर राष्ट्र बैंकका कर्मचारी तथा पदाधिकारीहरूको वैदेशिक भ्रमणका लागि आवश्यक अन्तर्राष्ट्रिय हवाई टिकट तथा सम्बन्धित ट्राभल सेवा उपलब्ध गराउनेछन्।




